बन्यो सुविधा सम्पन्न छात्रावास


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ मा रहेको जुनवेशी माध्यामिक विद्यालयमा सुविधा सम्पन्न छात्रा छात्राबासको बनेपछि विद्यालय, अभिभावक तथा विद्यार्थी उत्साहित भएका छन् । शिक्षकहरु विद्यार्थीको गुणस्तर वृद्धि हुनेमा खुशी छन् भने अभिभावक पनि आफ्ना बालबालिका सुरक्षित छात्रावासमा बसेर पढ्न पाउँदा ढुक्क भएका छन् ।

विद्यालयका प्रधानाध्यापक चुङबा छिरिङ लामाले विद्यालयमा निर्माण भएको छात्राबासले शिक्षाको गुणस्तर बढाउनमा ठूलो योगदान गर्ने बताउनुभयो । यस भन्दा अघि विद्यालयले निर्माण गरेको छात्राबासमा राखेर एसइइ परीक्षाको तयारी गर्दा नतिजामा धेरै सुधार भएको भन्दै अब नव निर्मित छात्रावासले विद्यालयको समग्र शैक्षिक गुणस्तरमा प्रभावकारी सहयोग पुग्ने बताउनुभयो ।


यस अघि छात्राहरुका लागि छुट्टै छात्राबास नहुँदा शिक्षकहरुसँग राखेर पढाउँदा समस्या भएको उहाँको भनाइ छ । उहाँकाअनुसार पाँच जना विषयगत शिक्षक पनि छात्राबासमा बसेर विद्यार्थीलाई सहयोग गर्ने छन् । जुनवेसी माविलाई शिक्षाको स्रोत केन्द्रका रुपमा विकसित गर्ने सोच रहेको उहाँको भनाइ छ ।

बेलायतको स्टे एट स्कुलको सहयोग तथा स्टे एट स्कुल नेपालको समन्वयमा करिब ४९ लाख ५० हजार रुपियाँको लागतमा निर्माण भएको ६ कोठे छात्रावास भवनको एक कार्यक्रमको आयोजना गरी विद्यालयकी सबै भन्दा कम उमेरकी छात्रा सिर्जना तामाङको हातबाट उद्घाटन गरिएको छ । जसमा कुल लागतको १२ लाख रुपियाँ बराबर स्थानीयको सहभागिता रहेको छ ।

स्टे एट स्कुल नेपालका कार्यकारी निर्देशक गेले राप्के भोटेले संस्थाले विगत लामो समयदेखि अनौपचारिक रुपमा विद्यालय तथा विद्यालयमा रहेको छात्राबासलाई सहयोग गर्दै आएको भन्दै अहिले नेपाल सरकारसँग अनुमति लिएर पहिलो पटक आधुनिक तथा सुविधा सम्पन्न छात्रा छात्राबास बनाएको बताउनुभयो । उहाँले छात्राबास सञ्चालनका लागि दिर्घकालीन रणनीति बनाएर अभिभावक समेतको साझेदारीमा अघि बढ्ने बताउनुयो ।

नवनिर्मित छात्राबासको सामान्यत २४ जनाको क्षमता रहेको भए पनि छात्रावासमा बस्न चाहने छात्राको चाप धेरै रहेको विद्यालयका शिक्षक ङवाङदार्जी राईले जानकारी दिनुभयो । छात्रावासमा बसेर पढ्न पाउँदा अभिभावक समेत दंग छन् । अभिभावक पेशल कट्वालले जिल्लाकै नमुना छात्राबास भएकाले यसमा बसेर पढ्न पाउँदा आफ्ना बालबालिकाको पढाई राम्रो हुने भन्दै खुशी व्यक्त गर्नुभयो । यसले विद्यालयको नतिजा सुधारमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

निर्माण संस्थाका फिल्ड सुपरभाइजर तथा प्राविधिक रिन्जी शेर्पाले भवन शतप्रतिशत भूकम्प प्रतिरोधी भएकाले अभिभावक तथा विद्यार्थीले ढुक्क भएर बस्न सक्ने बताउनुभयो । दाताले बनाएको भवनलाई सही प्रयोग गर्न विद्यालय तथा विद्यार्थीलाई उहाँको सुझाव छ । छात्रावासमा पाँच जना विषयगत शिक्षक समेत बस्ने भएकाले छात्रावासमा बसेर पढ्दा विद्यार्थीको पढाईमा थप सहयोग पुने शिक्षक कालिदास निरौलो बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार