गोक्योमा तालमा बेपत्ता एक विद्यार्थीको शब भेटियो


सन्तोस राउत/सोलुखुम्बु । गत शनिबार भ्रमणमा गएका सोलुखुम्बुको खुम्जुङ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी पौडी खेल्ने क्रममा गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन जना विद्यार्थी मध्ये एक जनाको शब भेटिएको छ । स्थानीयस्तरमा भएका सेना, प्रहरी तथा स्थानीयबाट बेपत्ताको खोजी हुन नसकेपछि शसस्त्र प्रहरीको गोताखोर टोलीलाई मङ्गलबार चितवनबाट राजधानी हुँदै गोक्यो क्षेत्रमा पुर्याइएको हो ।
सेना, प्रहरी तथा स्थानीय सहित हिमताल पुगेको गोताखोरको टोलीले २५ मिटर गहिराईबाट बेपत्ता विद्यार्थी पेम्बानुरु शेर्पाको शब निकालेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य दुई जनाको खोजी कार्य जारी रहेको छ । तालमा पौडी खेल्दै गर्दा पेम्बादोर्जी शेर्पा, सुनिल बराइली र पेम्बानुरु शेर्पा डुबेका थिए ।
शसस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानैदेखि हिमतालमा डुबेका विद्यार्थीहरुको खोजी गरिरहेको घटनास्थलमा उद्धार टोलीमा संलग्न खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । अघिल्लो दिनको तुलनामा बुधबार गोक्यो क्षेत्रमा मौसम अनुकुल भएकाले खोजी कार्य सहज भएको र अत्याधिक चिसोका कारण गोताखोर टोलीका सदस्य एक एक घण्टामा आराम गर्दै विद्यार्थीको खोजी कार्यमा लागिरहेको उहाँले जानकारी दिनुभयो ।
उद्धार टोली मङ्गलबार नाम्चेबाट दुई वटा हेलिकोप्टरमा गोक्यो उडेका भएपनि गोक्योमा मौसम प्रतिकुल भएपछि फाङ्गामा अवतरण गरी करिब तीन घण्टा पैदल हिडेर गोक्यो पुगेका थियो । विश्व रामसार सूचीमा सुचिकृत गोक्यो हिमताल समुन्द्री सतहबाट ४ हजार ७५० मिटरको उचाईमा छ । हाइ अल्टीच्युटमा रहेको हिमताल भएका कारण यहाँको तापक्रम सँधै माइनस २ डिग्री सेल्सियस भन्दा कम हुन्छ ।
माइनस तापक्रम भएको तालमा करिब ३० मिनेटसम्ममा उद्धार गरेर सघन उपचार गर्दा मात्र बाँच्ने सम्भावना हुने हिमालयन रिसर्चका अध्यक्ष डा. धनञ्जय रेग्मीले बताउनुभयो । केही महिनाअघि मात्रै तालका बारेमा विस्तृत अध्ययन गुर्नभएका अध्यक्ष डा.रेग्मीले गोताखोरको टोलीलाई पनि धेरै कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, तालको गहिराइ केन्द्र भागमा ४८ मिटरसम्म छ, त्यसमाथि माइनस डिग्रीमा पौडिएर उद्धार गर्नु निकै चुनौतिपूर्ण काम हो ।
कम तापक्रम भएको हिमतालमा पस्दा हाइपर थर्मिया भएर शरिरका अङ्गहरु मुटु, मष्तिस्कलगायतले काम नगर्ने भएकाले गोताखोरलाई समेत जोखिम हुने डा. रेग्मीको भनाइ छ । अहिले त्यहाँ पुगेका गोताखोर भनेको त्रिशुली सहितका नदीहरुमा अनुभव सङ्गालेका जनशक्ति भएकाले हिमतालभित्रको फरक संरचना र वातावरणमा लामो समय खोज्न सहज नहुने उहाँले बताउनुभयो । उहाँकाअनुसार तालको बाहिरी भागमा ढुङ्गा भएपनि अधिकांश भागमा बालुवा मिसिएको लेदोयुक्त हिलो छ, बालकहरु त्यही हिलोमा गाढिएको हुनसक्छ । हिमतालमा अन्दाधुन्द प्रवेश गर्नु भन्दा पहिले उच्च प्रविधियुक्त क्यामेरा जडान गरी बालकहरु रहेको स्थान हेर्न सकिने डा. रेग्मीको सुझाव छ ।
कुनै बेला बालकहरु तैरिएको अवस्थामा भेटिने आशमा स्थानीयहरु तालमा निरन्तर आँखा लगाइरहेको खुम्जुङ माध्यमिक विद्यालयका पूर्व अध्यक्ष तथा गोक्यो ताल छेवैमा रहेको हिमालय इको रिसोर्टका सञ्चालक पेम्बा शेर्पाले बताउनुभयो । सगरमाथा हिमालपछिको खुम्बु क्षेत्रको आकर्षक पर्यटक गन्तब्य मानिने गोक्यो तालमा बालकहरु बेपत्ता भएपछि हिमाल र पोखरीहरुलाई देवता मान्ने स्थानीयलाई बालकको शोकसँगै ताल पवित्र बनाउने चिन्ता भएको उहाँले बताउनुभयो ।

तस्बिर सौजन्य : लक्ष्मण अधिकारी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार