काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता, पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्ड काठमाडौंबाट पक्राउ गरेकोमा विप्लव समुहले भत्र्सना गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीले सम्पूर्ण राजनीतिक मूल्यमान्यता मिच्दै गरिएको यो गिरफ्तारीको पार्टी घोर भत्र्सना गरेको छ ।
महासचिव विप्लवद्वार जारी विज्ञप्तिमा भनिएको छ ‘काठमाडौँको दक्षिणकालीबाट हाम्रो पार्टीका स्थायी समितिका सदस्य तथा प्रवक्ता प्रकाण्डसहित तीनजनालाई केपी–प्रचण्ड सरकारले बिनाकारण गिरफ्तार गरेको छ । हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रकाण्ड, पीबीएम कमरेडहरू, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा पार्टी फासिवादी दमनको सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ । त्यसबाट निस्कने परिस्थितिको यो सरकार नै जबाफदेही रहनेछ । केपी सरकारले राजनीतिक अधिकारमाथि एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउँदै गएको छ । सरकारको यो रबैयाको कडा प्रतिवाद गर्न पनि हाम्रो पार्टी नेपालका सबै सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिलाई आह्वान गर्दछ ।’
साथै नेकपाले साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।
विश्वकर्मालाई गएराति चाल्नाखेलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापाले जानकारी दिए । विश्वकर्मामाथि चन्दा संकलन तथा विष्फोट लगायतका घटना गराएको आरोप लाग्दै आएको थियो ।
तर, प्रहरी प्रवक्ता थापाले, उनीमाथि मुद्दा दाय गर्ने बेलामा मात्रै अभियोगबारे खुलाईने जवाफ दिएका छन् । २०६८ सालमा झलनाथ खनालको प्रधानमन्त्री कालमा विश्वकर्मा पर्यटन तथा नागरिक उड्ययन मन्त्री थिए ।
उनलाई महानगरीय प्रहरी परिसरमा राखिएको छ । विश्वकर्मासहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ पक्राउ परेका छन् । मंगलबार मात्रै नेकपाका केन्द्रीय नेता आजाद केसीलाई भक्तपुरको डेराबाटै पक्राउ गरिएको थियो । source:hamrakura.com