सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको जन जागृति आधारभूत विद्यालयलाई नवनिर्मित आधुनिक भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण गरिएको छ । करिब ४० लाख रुपियाँको लागतमा निर्माण भएको दुई कोठे विद्यालय भवन विद्यालयमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।
विद्यालय भवन अष्ट्रेलियन हिमालयन फाउण्डेसनको आर्थिक सहयोगमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले निर्माण गरेको हो । रीड नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको विद्यालय भवन सोलुखुम्बु जिल्लाका लागि उपयुक्त भएको फाउण्डेशनकी कार्यक्रम प्रमुख छिरिङ लामा ओगरमनले बताउनुभयो । नेपालमा २०७२ सालको भूकम्पपछि फाउडेशनले विद्यालय भवन निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो ।
सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख कल्पना राईले सोलुखुम्बुको शैक्षिक गुणस्तर विकासमा रीड नेपालले लामो समयदेखि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । रीड नेपालका महाप्रबन्धक उज्ज्वल अमात्यले भूकम्पपछि नेपालमा ८७ वटा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माणमा आफूहरुले सहयोग गरेको बताउँदै सोलुखुम्बुमा १३ वटा अष्ट्रेलियन डिजाइनको भवन बनेको जानकारी दिनुभयो ।
रीड नेपालले जन जागृति आधारभूत विद्यालयमा, सिंहकाली आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, वासाखाली माध्यमिक विद्यालय, गार्मा माध्यमिक विद्यालय र चाँगेस्थान माध्यमिक विद्यालयमा भवन निर्माण सम्पन्न गरेको रीड नेपालका शिक्षा विकास अधिकृत मनोज श्रेष्ठले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक शिवप्रसाद राईले विद्यालयमा नयाँ भूकम्प प्रतिराधी भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको बताउनुभयो । भुकम्प प्रतिरोधी नयाँ भवन साउण्ड प्रुफ भएकोले हावाहुरी तथा पानी पर्दा समेत पढाईमा बाधा नपुग्ने, जाडो मौसमका लागि समेत उपयोगी भएको रीड नेपालका इन्जिनियर सुमन राईले बताउनुभयो । विद्यालयमा ३३० जना विद्यार्थीहरु अध्ययनरत छन् ।
नेपालकै पहिलो प्रविधिका रुपमा निर्माण हुन भएको भवनको डिजाइन अस्ट्रेलियन कम्पनि ‘टिटि डब्लु हेसल’ ले गरेको हो । विद्यालयको निर्माण प्रक्रियामा फाउन्डेसन (जग) आरसीसी बिम, कक्षा कोठाको भुइँ कङ्क्रिट गरी झ्यालको तहसम्म सिमेन्ट र ढुङ्गाको गारो, स्टिलको फ्रेममाथि छानाको डाँडाभाटा प्रयोग गरी निर्माण गरिएको छ ।
हलुका तथा धेरै बलियो र टिकाउ निर्माण सामग्रीबाट निर्माण गरिएको भवन निकै बलियो र भूकम्प प्रतिरोधात्मक समेत रहेको रीड नेपालका अध्यक्ष भीम बोगटीले बताउनुभयो । एउटा कक्षामा ३० देखि ३५ जना विद्यार्थीहरु बसेर पठनपाठन गर्न सक्ने उहाँको भनाइ छ ।