गोताखोरको स्वास्थ्य र मौसम प्रतिकूल भएपछि खोजी कार्य स्थगित


सन्तोस राउत/सोलुखुम्बु । सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई जना विद्यार्थीलाई चार दिनसम्म खोज्दा पनि फेला पार्न नसकेपछि गोक्यो तालमा पुगेको सशस्त्र प्रहरी बलको गोताखोर सहितको उद्धार टोली फर्किएको छ । बुधबार बिहानदेखि तालमा विभिन्न प्रविधि प्रयोग गरी खोजी गर्दा शुरुकै दिनमा पेम्बानुरु शेर्पाको शब फेला परेको भएपनि बाँकी दुई जना विद्यार्थी नभेटेपछि उद्धार टोली फर्किएको हो ।

हाइ अल्टीच्युटमा रहेको हिमतालको तापक्रम सँधै माइनस दुई डिग्री सेल्सियस भन्दा कम हुने भएकाले चार दिनसम्म लगातार खोजी कार्य गर्दा तराईको प्रचण्ड गर्मीबाट आएको गोताखोर टोलीका सदस्यलाई स्वास्थ्यमा समस्या भएपछि खोजी कार्य स्थगित गरी टोली फर्किएको खुम्बुपासाङल्हामू गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा खोजी कार्यमा संलग्न सदस्य लक्ष्मण अधिकारीले बताउनुभयो । मौसम राम्रो भएमा सोमबार टोली राजधानी फर्कने उहाँको भनाइ छ ।

अत्याधिक चिसोका कारण गोताखोर टोलीको स्वास्थ्यमा समस्या आउनुका साथै मौसम प्रतिकुलताका कारण खोजी कार्यलाई स्थगित गरिएको हो । अध्यक्ष अधिकारीकाअनुसार बेलायतमा पानीभित्रको अवस्था पत्ता लगाउन सकिने अत्याधुनिक क्यामेरा र रोबोट पाउने भएकाले त्यसलाई ल्याएर खोजी गर्ने बारेमा छलफल भइरहेका र अब फेरी सामग्री ल्याएर खोजी गर्ने तयारी भइरहेको छ ।

समुद्री सतहबाट चार हजार ७५० मिटरको उचाईमा रहेको गोक्यो हिमतालको गहिराइ केन्द्र भागमा ४८ मिटरसम्म भएकाले माइनस डिग्रीमा पौडिएर उद्धार गर्नु निकै चुनौतिपूर्ण हुने भएकाले हिमतालमा अन्दाधुन्द प्रवेश गर्नु भन्दा पहिले उच्च प्रविधियुक्त क्यामेरा जडान गरी बालकहरु रहेको स्थान पत्ता लगाएर पानीमा पस्नुपर्ने हिमालयन रिसर्चका अध्यक्ष डा. धनञ्जय रेग्मीले बताए पनि गोताखोरको टाली सिधै पानीमा पौडिएर खोजी गर्दा स्वास्थ्यमा समस्या उत्पन्न भएको हो ।

उक्त तालका बारेमा विस्तृत अध्ययन गुर्नभएका अध्यक्ष डा.रेग्मीले गोताखोरको टोलीलाई सचेत भएर मात्र तालमा पस्न सुझाउनु भएको थियो । उहाँले तालको बाहिरी भागमा ढुङ्गा भएपनि अधिकांश भागमा बालुवा मिसिएको लेदोयुक्त हिलो भएकाले विद्यार्थी हिलोमा गाढिएको हुनसक्ने बताउनुभएको छ ।

उक्त उद्धार टोलीमा सशस्त्र प्रहरी बलका दुई जना गोताखोर र तीन जना विपद व्यवस्थापनका तालिम प्राप्त सदस्य सहित पाँच जना, नेपाली सेनाका पाँचजना, नेपाल प्रहरी पाँचजना र स्थानीय जनप्रतिनिधि एवं स्थानीय १६ जना गरी ३१ जनाको टोली परिचालित थियोे । बेपत्तामध्ये पेम्बादोर्जी शेर्पा र सुनिल बराईलीको अवस्था अज्ञात रहेको छ ।

साउन १८ गते भ्रमणमा गोक्यो क्षेत्र गएका खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ का तीन जना विद्यार्थी मध्ये १९ गते गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा डुबेर तीन जना विद्यार्थी बेपत्ता भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार