दुर्गममा प्रभावकारी बन्दै सामूदायिक आँखा केन्द्र


सोलुखुम्बु । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा सामूदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । सोलुखुम्बुको फाप्लुमा विगत १५ वर्षदेखि सञ्चालनमा रहेको सामूदायिक आँखा केन्द्रमा प्रत्येक वर्ष सेवा लिनेको संख्या बढिरहेको छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा ९ हजार १८४ जनाले आँखा परीक्षण गराएका छन् । जिल्ला सामुदायिक आखा केन्द्र, फाप्लुमा र विभिन्न ठाउँमा सञ्चालन गरेको शिविरबाट हजारौँको संख्यामा सर्वसाधारणले आँखा परीक्षण गराएका हुन् । चार हजार ८१३ जनाले सामुदायिक आँखा केन्द्रबाटै सेवा लिएका छन् भने तीन हजार ३९८ जनाले विभिन्न ठाउँमा आयोजना गरिएको शिविर मार्फत सेवा लिएका छन् ।

गत जेठबाट सञ्चालित विद्यालय आँखा जाँच कार्यक्रम अन्तर्गत ९८१ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । जसमध्ये दृष्टि क्षमता कमजोर भएका ४४ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको छ । जिल्लाभर एक हजार ६५९ जनालाई चस्मा वितरण गरिएको छ भने चार हजार ६७२ जनाले औषधि प्रयोग गरेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।

७३ जनाको भने आँखाको शल्यक्रिया गरिएको प्रमुख पुष्पबाबु बस्नेतले बताउनुभयो । सन् २००३ मा स्थापना भएको आँखा केन्द्रमा हालसम्म ७० हजार भन्दा बढीले आँखा जाँच सम्बन्धी सेवा लिएका छन् भने करिब एक हजार ३०० जनाको आँखाको अप्रेशन गरिएको छ । त्यसका अतिरिक्त आँखा केन्द्रले शिक्षक, स्वास्थकर्मी, आमा समूह, स्वास्थ्य स्वयंसेविकालाई आँखा स्वास्थ तालिम पनि सञ्चालन गर्दै बार्षिक रूपमा विशेषज्ञस्तरीय आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।

प्रमुख बस्नेतले बालबालिकाको आँखा सुरक्षामा अविभावकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रविधिको विकाससँगै लामो समय टेलिभिजन र मोबाइल हेर्ने, खेल खेल्ने, कार्टुन हेर्ने बानीले बालबालिकाको आँखामा असर पार्ने भएकाले अभिभावकले ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार