जुवा खेल्ने/खेलाउनेलाई अब कडा सजाय

काठमाडौं, साउन ३० । भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिता ऐनले समाजमा बढ्दो विकृतिलाई लगाम लगाउन अपराधको सीमामात्र बढाएको छैन, २०२० सालको मुलुकी ऐनले गरेको व्यवस्थामा अझ कडाइ पनि गरेको छ ।

जुवासँग सम्बन्धित विषयलाई पनि थप दन्डनीय बनाइएको छ । जुवालाई अपराध मानिएको छ । तर, कानुनको छिद्र खोज्दै जुवा खेल्ने/खेलाउने काम देशका विभिन्न भागमा भइरहेको छ ।

त्यस्तो कर्ममा लागेकाहरुलाई प्रहरीले पक्राउ गरेपनि फितलो दन्ड व्यवस्थाका कारण नगन्य जरिवानमा छुट्ने गरेका छन् । बरु, निर्धक्क जुवा खेल्नेहरु बढेको देख्न/सुन्न पाइन्छ । जुवा खेल्ने लतकै कारण कतिपय व्यक्तिको घरबार बिग्रेको उदाहरण प्रशस्तै छन् ।

तर, अब लागू हुने नयाँ मुलुकी अपराध (संहिता) ऐनमा भने जुवा खेल्ने/खेलाउने दुवैलाई कडा सजायको व्यवस्था गरेकाले केही नियन्त्रण हुने विश्वास व्यक्त गर्छन्, वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की ।

पहिला जुवा खेल्ने/खेलाउनेलाई २०० रुपैयाँ जरिवाना र केही दिन हिरासतमा बसे पुग्नेजस्तो फितलो कानुन रहेकामा भदौ १ गतेदेखि भने जुवा खेल्ने/खेलाउनेलाई तीन महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।

त्यस्तै, दोस्रोपटक जुवा खेले/खेलाएको पाइएमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना र पटक–पटक पक्राउ परेमा पटकैपिच्छे थप तीन महिना कैद र १० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।

नयाँ व्यवस्थाले आफू खालमा नरहे पनि अरुको हार वा जितमा आफूले कुनै चल–अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी वा च्याँखेलाईसमेत समेटेको छ ।

नयाँ ऐनले सट्टाबाजी गर्ने/गराउनेलाई निरुत्साहित गराउन उस्तै दन्डनीय बनाउँदै त्यस्तामा संलग्न हुनेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ ।

नयाँ कानुनले समाजमा भयावह बन्दै गरेको जुवा अपराधलाई नियन्त्रण गर्न राम्रो भूमिका खेल्ने विश्वास अधिवक्ता कार्कीको छ । दीपक श्रेष्ठ/देवेन्द्र महर्जन (इमेज)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार