प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आज बसेको बैठकले उक्त विधेयकका सम्बन्धमा आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारभएकाहरूसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षामा विपन्न तथा गरीब व्यक्तिका लागि विशेष व्यवस्था गरेर पहुँचको सुनिश्चित गरिने प्रतिबद्धता जनाउनुभयो ।
मौलिक अधिकारका रूपमा रहेको शिक्षा र स्वास्थ्यका विषयलाई अरू उद्योग र कारखानाको रुपमा हेर्न नहुने तर्क गर्दै मन्त्री पोखरेलले विधेयकले प्रदेशको अधिकारलाई खुम्च्याउने काम नगरेको स्पष्ट पार्नुभयो ।