सन्तोष राउत/सोलुखुम्बु । सामान्यतया विद्यालय तहको कक्षा १२ सम्म पढ्ने अधिकांश विद्यार्थी अभिभावककै भरमा अध्ययन गरिरहेका हुन्छन् । उनीहरुलाई खर्चको बारेमा कुनै चिन्ता हुदैन । तर सोलुखुम्बुमा कक्षा १२ मा पढ्ने १/१७ वर्षका दुई जना युवा विद्यार्थी अध्ययनसँगै उद्योगी बनेको कुरा सन्दा पत्यार नलाग्न सक्छ ।
सोलुखुम्बुको एक विद्यालयमा व्यवस्थापन विषय संकायमा अध्ययनरत दुई विद्यार्थी पासाङनुरु शेर्पा र तेन्जिङ शेर्पाले विद्यार्थी जीवनबाट नै स्वाबलम्बनको बाटो शुरु गरेका छन् । उनीहरुले हिमालयन शेर्पा नुडल्स उद्योग स्थापना गरी थुक्पा उत्पादन थालेका हुन् । करिब दुई महिनाअघि मात्र सदरमुकाम सल्लेरीमा व्यवसाय थालेको भए पनि मासिक करिब छ सय केजी भन्दा बढीको बिक्री भइरहेको सञ्चालक पासाङनुरु शेर्पाले बताउनभयो ।
प्रति केजी एक सय रुपियाँमा बिक्री हुने गरेको थुक्पाबाट मासिक ६० हजार रुपियाँको कारोबार भइरहेको भन्दै करिब ३० हजार आम्दानी भइरहेको शेर्पाले बताउनुभयो । उहाँकाअनुसार माग धेरै भएपनि माग अनुसार आपूर्ति गर्न अझै सकिएको छैन । बजारको प्रभावकारी व्ययवस्थापन गर्न सके मासिक एक लाखसम्मको आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।
व्यवस्थापन विषय पढेकाले आफ्नो विषयअनुसार व्यवसाय गर्न थालेको उनीहरु बताउँछन् । मेहेनेत गर्न सके स्वदेसमानै धेरै काम गर्न सकिने अर्का सञ्चालक तेन्जिङ शेर्पाले बताउनुभयो । उनीहरुले शुरुमा आफ्नै करिब सात लाख रुपियाँ लगानी गरेर व्यवसाय थालेका हुन् । थोरै तलबमा विभिन्न खाडी मुलुकमा जानु भन्दा त्यही रकम लगानी गरेर साना उद्योग गरेर राम्रो आयआर्जन गर्न सकिने पासाङनुरुको भनाइ छ ।
सानै उमेरमा व्यवसायी बनेकोमा शेर्पालाई कक्षा १० सम्म अध्यापन गराउने पिके माध्यामिक विद्यालयका प्रधानाध्यापक चेतबहादुर मगरले खुशी व्यक्त गर्दै यसबाट स्वदेसमा केही गर्न सकिदैँन भन्दै विरक्तिएर विदेस पलायन हुनेलाई प्रेरणा हुने विश्वास व्यक्त गर्नुभयो । सबै विद्यार्थीले यसरीनै उत्पादनमूलक क्षेत्रमा लाग्न सके देसको बोरोजगारी समस्या कम गर्न सहज हुने उहाँको भनाइ छ ।