बकर इदमा प्रदेशभरी सार्वजनिक विदा, के गर्लान् सिडियोहरुले ?

विराटनगर। प्रदेश १ को मन्त्रीपरिषद बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदमा प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालयमा मंगलबार विहान बसेको मन्त्रीपरिषद बैठकले बकर इदका अवसरमा विदा दिने निर्णय गरेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

केन्द्र सरकारले यसअघि मुस्लिम समुदायका लागिमात्रै दिएको विदालाई प्रदेश १ को सरकारले प्रदेशभरी पूर्ण रुपमा लागु हुने गरी सार्वजनिक विदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले बकर इदमा सार्वजनिक विदा दिन पटक पटक माग राख्दै अाएका थिए ।

वि.स. २०६८ काे जनगणना अनुसार प्रदेश १ मा मुस्लिम समुदायको जनसंख्या १ लाख ६२ हजार रहेको छ । जुन प्रदेशको कुल जनसंख्याको ५ प्रतिशत हो । प्रदेश १ मा मुस्लिम भाषीहरुको संख्या भने एक प्रतिशतमात्रै रहेको छ ।

यता विदा कार्यन्वयनबारे फेरी प्रश्न उब्जने भएको छ । यसअघि साउन २४ गते पनि प्रदेश सरकारले प्रदेश १ मा विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । तर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भने संघीय सरकारको मातहतमा भएका कारण प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्न नसकिने भन्दै कार्यालय खोलेका थिए ।

यसपटक पनि प्रमुख जिल्ला अधिकारीहरुले के गर्लान भन्ने कुरालाई चासाेका रुपमा हेरिएको छ । udghoshdaily.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार