सन्तोष राउत/सोलुखुम्बु। काठ्माण्डौँ–फाप्लु सडक खण्डको छुल्यामू सडक खण्डमा सडक भाँसिदा यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ छुल्यामूमा सडक करिब दुई फिट भाँसिएपछि उक्त सडक हुँदै आवातजावत गर्ने यातायातका साधन ठप्प भएका हुन् ।
कुनामा भएको ढल सहित सडकको तलतिरको भाग पुरै भाँसिदा सो सडकमा यातायात ठप्प भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुका इन्चार्ज सञ्जिव चौधरीले जनाकारी दिनुभयो । जिल्लाबाट काठमाण्डौँ छुट्ने जीपलगायतका साना सवारीहरुले बैकल्पिक सडकको रुपमा छुल्यामूको माथिल्लो सडक प्रयोग गरेका छन् भने बस तथा अन्य ठूला ढुवानीका साधन पूर्ण रुपमा बन्द छन् ।
सल्लेरी गार्मा सडक खण्डको पक्की सडक खण्ड अवरुद्ध भएकाले बैकल्पिक सडकको रुपमा माथिल्लो छुल्यामू सडक प्रयोग गर्न ट्राफिक प्रहरी पोष्ट सोलुखुम्बुले आग्रह गरेको छ । ठूला सवारी साधानलाई भने बजार क्षेत्रबाट आवागमनको अनुमति छैन ।
अवरुद्ध सडकको स्थलगत निरीक्षण गर्दै सोमबार नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा सहित सडक डिभिजन कार्यालय ओखलढुङ्गाका प्राविधिकहरुको टोलीले सडक मर्मत कार्य एक हप्तामा सुरु हुने बताएको छ । मेयर शेर्पाले सडक चाँडो भन्दा चाडो मर्मत गरी सञ्चालनमा ल्याउन आफुले सडक डिभिजन कार्यालयलाई अनुरोध गरिसकेकाले छिटै मर्मत गरिसक्ने बताउनुभयो ।
मोटरसाइकल तथा जीप जस्ता साना सवारी साधनहरुका लागि गार्माको माथिल्लो सडक बैकल्पिक सडक भए पनि ठूला सवारी साधनहरु भने केही समयका लागि बन्द हुने मेयर शेर्पाको भनाइ छ ।