हिमतालमा बेपत्ता विद्यार्थीको खोजीमा अत्याधुनिक ड्रोनको प्रयोग

सोलुखुम्बु । सोलुखुम्बुको गोक्यो हिमतालमा विगत २० दिनदेखि हराइरहेका दुई जना विद्यार्थीको खोजीको लागि अत्याधुनिक ‘सबमरिन ड्रोन’ को प्रयोग गरिने भएको छ । यसअघि शसस्त्र प्रहरीको गोताखोरले पनि विद्यार्थीको खोजी गर्न नसकेपछि खोजीमा ‘सबमरिन ड्रोन’ को प्रयोग गर्न लागिएको खुम्बुपासाङल्हमु गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।

सम्भवतः नेपालमै पहिलो पटक ‘सबमरिन ड्रोन’ को प्रयोग गरी पानीभित्र वेपत्ता मान्छे खोज्ने काम हुन लागेको हो । ‘सब मरिन ड्रोन अत्याधुनिक टर्च लाईट बालेर पानीभित्र ५० मिटर गहिराईसम्म गएर खोज्न सक्ने उपकरण हो । सिङ्गापुरमा किनिएको ‘सबमरिन ड्रोन’ मङ्गलवार नेपाल आइपुगेको छ । उक्त उपकरण पासाङग्याल्जेन शेर्पा, तेञ्जिङ शेर्पा र पासाङ शेर्पाले सिङ्गापुरबाट किनेर ल्याउनु भएको हो ।

ड्रोन किन्न गाउँपालिकाको आन्तरिक स्रोतबाट रकम खर्च गरिने बताइएको छ । अत्याधुनिक ‘सबमरिन ड्रोन’ लाई चलाउनका लागि नेपाली सेना, सशस्त्र अथवा नेपाल प्रहरीमध्ये एकलाई आवश्यकीय तालिम दिई बेपत्ता विद्यार्थी खोज्न गोक्यो हिमतालमा लगिने गाउँपालिकाले जनाएको छ । यदि ‘सबमरिन ड्रोन’ ले हिमतालमा बेपत्ता विद्यार्थी पत्ता लगायो भने सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई लगेर शब निकाल्ने योजना रहेको छ ।

गत साउन १९ गते भ्रमणमा गएको बेला बिहान हिमतालमा पौडी खेल्ने क्रममा खुम्जुङ माध्यामिक विद्यालयका कक्षा ९ का तीन जना विद्यार्थी डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमध्ये पेम्बानुरु शेर्पाको शव पाँच दिनपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले हिमतालबाट निकालेको थियो । पेम्बादोर्जे शेर्पा र सुमन बराईलीको अवस्था अझै अज्ञात रहेको छ ।

अत्याधिक चिसोका कारण मानिसले खोज्न असहज भएका बेला ड्रोनले सहज हुने बताइएको छ । समुद्री सतहबाट चार हजार ७५० मिटरको उचाईमा रहेको गोक्यो हिमतालको गहिराइ केन्द्र भागमा ४८ मिटरसम्म छ । यसअघिनै हिमालयन रिसर्चका अध्यक्ष डा. धनञ्जय रेग्मीले उच्च प्रविधियुक्त क्यामेरा जडान गरी बालकहरु रहेको स्थान पत्ता लगाएर पानीमा पस्नुपर्ने सुझाव दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार