बैङ्क सञ्चालनमा आएपछि स्थानीय उत्साहित


म पेन्सनमा आएको ५२ वर्ष भयो, पेन्सनबाट आएको रकम जम्मा गर्न सदरमुकाम सल्लेरीमा धाउनु पथ्र्याे कि मनमा डर मान्दै घरमै राख्नुपर्ने बाध्यता थियो, अब गाउँमानै बैङ्क स्थापना भएपछि ढुक्क भयो–दुर्गम सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका ८२ बर्षिया ब्रिटिस आर्मीका पेन्सनवाला भीमबहादुर राईले उत्साहित हुँदै भन्नुभयो ।

थुलुङदुधकोशी गाउँपालिकाको केन्द्रमा लक्ष्मी बैङ्कले औपचारिक रुपमा शाखा सञ्चालनमा ल्याएपछि राई जस्ता धेरैले स्थानीयले खुशी हुँदै धमाधम खाता खोलेका छन् । जिल्लाकै पहिलो गाउँपालिकाका रुपमा कारोबार शुरु गरेको उक्त बैङ्कको बिहीबार औपचारिक रुपमा शाखाको उद्घाटन गरी कारोबार थालेको हो । हालसम्म नगरपालिकामा मात्र बैङ्क सञ्चालनमा रहेका छन् ।

बैङ्क चाँडो स्थापना गर्नका लागि धेरै मेहेनेत गर्नु परेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । बैङ्ककै लागि भवनलगायत आधारभूत कुराको तयारी गरेर सबै भन्दा पहिला बैङ्क स्थापना गर्न सकेकोमा खुशी व्यक्त गर्दै गाउँपालिकामा बैङ्क नभएका कारण हरेक साना योजनाको खातासमेत सदरमुकाममा रहेका बैङ्कहरुमा खोल्न बाध्य हुनुपरेको र हरेक आर्थिक कारोबारका लागि सदरमुकाम धाउनु पर्दा जनतालाई धेरै कठिनाई भएकाले पहिलो प्राथमिकतामा राखेर बैङ्क स्थापनाको पहल गरेको अध्यक्ष राईले बताउनुभयो ।

सबै सरकारी तथा गैरसरकारी कायांलय, संघसंस्था सबैलाई बैंकमा खाता खोल्न निर्देशन दिँदै अध्यक्ष राईले अब सबै कारोबार बैङ्क मार्फत गर्ने जानकारी दिनुभयो । पारदर्शीताका लागि पनि यो महत्वपूृर्ण रहेको उहाँको भनाइ छ । बैङ्क नहुँदा नयाँ संरचनाको आभास पाउन नसकेका स्थानीयले अब भने गाउँगाउँमा सिंहदरबारको सुखानुभूति पाउन शुरु गर्ने उहाँको दाबी छ ।

बैङ्कले सेवा शुरु गरेपछि धेरै समय र श्रम खर्च गरेर सानो रकमका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको वडा नम्बर ४ का अध्यक्ष नातीकाजी गुरुङले बताउनुभयो । उहाँकाअनुसार सदरमुकाम सल्लेरी आउँदा चार दिनसम्म लाग्ने गरेको सम्झदैँ अब एकै दिनमा काम सकेर घर फर्कन मिल्ने भएको छ । गत आर्थिक बर्षबाट स्थानीय तहमा सबै बजेट पठाएकाले बैङ्क नहुँदा करौँडौको बजेट भुक्तानीका लागि सदरमुकाम धाउनु पर्दा सास्ती भएको थियो । अब कर्मचारी, जनप्रतिनिधि र सर्वसाधरण बैङ्क नभएकै कारण रकम निकाल्न तथा राख्न सदरमुकाम धाउनुपर्ने बाध्यता सकिएको बताउँछन् ।

दुर्गम गाउँमा सेवा शुरु गरेको बैङ्कका शाखा प्रबन्धक प्रयास अधिकारीले इन्टरनेट समेत सञ्चालनमा आएकाले सबै किसिमका सेवा दिन बैङ्क सक्षम भएको जानकारी दिनुभयो । बैङ्कले निक्षेप, कर्जालगायत राजधानीमा दिने सबै सेवा दिने उहाँको भनाइ छ ।

स्थानीय तहमा जाने पहिलो वाणिज्य बैङ्कलाई स्थानीय निकाय सम्बन्धी सम्पूर्ण सरकारी कारोबार सञ्चालन गर्न पाउने, उक्त बैङ्क तथा वित्तीय संस्थाले स्थानीय निकायमा शाखा सञ्चालन गर्दा राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनु नपर्ने, गाउँपालिकामा वाणिज्य बैङ्कले शाखा खोलेपछि त्यस स्थानमा तीन वर्षसम्म कुनै अर्को बैङ्कले शाखा खोल्न नपाउने र स्थानीय तहमा शाखा स्थापना गर्ने बैङ्कले एक वर्षका लागि प्रतिशाखा एक करोड रुपियाँ निब्र्याजी ऋण पाउने सुविधा दिइएको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता राईले बैंक सञ्चालन भएपछि सहज हुने बताउनुभयो । सो अवसरमा नेपाली काँग्रेसका सभापति विनोदकुमार बस्नेत, वडा अध्यक्षहरु, शिक्षक, कर्मचारीलगायत स्थानीयको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार