काठमाडौँ । प्रेस चौतारी र प्रेस सेन्टरबीच एकताको टुङ्गो लागेको छ । तत्कालीन दुई दल नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रेस चौतारी र प्रेस सेन्टरबीच एकीकरणका लागि गठन गरेको कार्यदलले पार्टीका महासचिव विष्णु पौडेललाई शुक्रबार आफ्नो एकताको प्रतिवेदन बुझाएको छ ।
कार्यदलले एकीकृत सङ्गठनको नाम प्रेस सङ्गठन नेपाल राखेको तत्कालीन प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले जानकारी दिनुभयो । कार्यदलले प्रेस संगठन नेपालको विधान, केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको नाम टुङगो लगाए पनि अध्यक्ष र महासचिवको टुङगो लगाउन सकेको छैन ।
अध्यक्ष र महासचिवको टुङ्गो पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउने बताइएको छ । प्रेस संगठन नेपाल २२६ सदस्यीय रहनेछ । तत्कालीन प्रेस चौतारीको तर्फबाट १२० सदस्य रहनेछन् भने तत्कालीन प्रेस सेन्टरको तर्फबाट १०६ सदस्य रहने बताइएको छ ।