सन्तोष राउत/सोलुखुम्बु। वर्षाले ओखलढुङ्गा–सल्लेरी सडक अन्तर्गत सोलुखुम्बुको तिङ्लास्थित साल्मे–सिस्नेरी सडक खण्डमा पर्ने सिस्नेरी पहिरोले हैरानी दिएको छ । पहिरो खस्दा दैनिक यातायातका साधन आवतजावतमा समस्या भएको छ । विगत वर्षदेखिनै वर्षेनि यस सिजनमा दुःख दिइरहेको उक्त पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको छ भने पैदल आवतजावतमा समेत जोखिम बढेको छ ।
बर्षेनि बग्ने साल्मे पहिरो निरन्तरको बर्षापछि यो बर्ष पनि बग्ने गरेको छ । माथिबाट ठुला ठुला ढुङ्गा खस्न थालेपछि पहिरोबाट बगेको माटो हटाउन समेत जोखिम बन्ने गरेको छ । बगेको माटोले सडक नै थुन्ने गरेकाले सवारी साधन सञ्चालनमा समस्या आएको यातायात व्यवसायीहरु बताउँछन् । त्यस्तै, पानी सहितको लेदो माटोले गर्दा पहिरो क्षेत्रमा बस, ट्रक तथा जीपहरु फस्ने गरेका छन् । साल्मे क्षेत्रको सडक पटक पटक मर्मत गरी सवारी सञ्चालन गर्न बाध्य भएको सोलुखुम्बुको ट्राफिक प्रहरीले जनाएको छ ।
सोलुखुम्बुबाट ओखलढुङ्गा, तराई तथा राजधानी जोड्ने एक मात्र सडकमार्ग भएकाले पनि यातायात समिति र यात्रुहरुले सास्ती बेहोर्नुपरेको छ । सल्लेरीबाट चल्ने दुधकुण्ड, सिटी भिलेज, हिमगङ्गालगायतका यातायात प्रालिद्वारा सञ्चालित दर्जनौँ सवारी साधन सल्लेरीबाट बिहान छुटेपछि पहिरोमा आएर अलपत्र बन्ने गरेको बताइएको छ । जोखिम लिएर सवारी पार गर्दा माथिबाट आएको ढुङ्गाले लाग्ने गरेको छ ।
माटो बगिरहने भएकाले पैदलयात्री समेत जोखिम मोलेर साल्मे क्षेत्र पार गर्दछन् । तिङ्ला, सल्यान नेचालगायत एक दर्जन गाविसका दैनिक ओहोरदोहोर गर्ने कृषक र अन्य यात्रु तथा ओखलढुङ्गाबाट सल्लेरी समान ढुवानीका लागि चल्ने यातायातका साधनहरु चल्न नसकेपछि सर्वसाधारणको जनजीवन प्रभावित हुने गरेको छ । अहिले सवारी साधन सोलुखुम्बुको सदरमुकाम सल्लेरी भित्रिन र सल्लेरीबाट बाहिरिन असहज भएको प्रहरीले जनाएको छ ।