डाक्टर सा’ब व्यवसायिक बाख्रापालनमा


सन्तोष राउत/सोलुखुम्बु । सामान्यतया अधिकाँसको आकर्षणको पेशा बनेको डाक्टर भन्ने बित्तिकै सेतो पोशाक लागएर घाँटीमा स्टेथेस्कोप बोकेर अस्पतालमा काम गर्ने, निजी क्लिनिक चलाउने काम गर्छन भन्ने सबैको सोचाइ हुन्छ । पछिल्लो समय सबैको हेलाको पेसा बनेको कृषि तथा पशुपालनमा एक जना एमबिबिएस डाक्टर व्यवसायिक तरिकाले लागेको भन्दा पत्यार नलाग्न सक्छ तर सोलुखुम्बुका एक जना डाक्टर जो यी सब कामका अतिरिक्त सफल व्यवसायिक कृषक बन्ने सोचका साथ अघि बढ्नुभएको छ ।

सोलुखुम्बुको लिखुपिके–२ गोलीका डाक्टर राजेन्द्र बस्नेतले सोलुखुम्बुमै पहिलो पटक अफ्रिकी मुलुकबाट ल्याएका बोयर जातका बाख्रा पालन शुरु गर्नु भएको छ । करिब साँढे दुई वर्षअघि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट नेपाल सरकारको छात्रावृत्तिमा एमबिबिएस पास गरेर दुई वर्ष जिल्ला अस्पताल फाप्लुमा काम गर्ने क्रममा पुर्खेउली थलोमानै व्यवसायिक रुपमा बाख्रा पालन थाल्नुभएको हो ।

उहाँले करिब ११ महिनाअघि एक करोड पुँजीको लिखुपिके एग्रोभेट प्रा.लि. दर्ता गरेर वैधानिक रुपमा व्यवसाय शुरु गर्नुभएको हो । झण्डै एक सय वर्षअघि अफ्रिकी मुलुकमा विकास गरिएका बोयर जातको एक बोका र पाँच वटा पाठी ल्याएर स्थानीय विभिन्न जातका सहित दुई सय बाख्रा रहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार जसमा जमुनापारी, बिटल, बारबरी, खरी र सिन्हाल जातका रहेको छन् । जसको कुल लगानी ६३ लाख रुपियाँ पुगेको छ ।

बोयर जातको बोका गाउँमा ल्याउँदा झण्डै एउटालाई पाँच लाख रुपियाँ लगानी भएको भन्दै डा.बस्नेतले भन्नुभयो–यस बोकासँग स्थानीय जातका बाख्राको क्रस गराउँदा ५० प्रतिशत शुद्धता आउने र क्रमशः सात पुस्तामा शुद्ध बोयर हुन्छन् । क्रस गराएर उत्पादन भएका पाठापाठी प्रतिगोटा ४० हजार रुपियाँका दरमा बिक्री हुने र हालसम्म दुई सय पाठापाठी बुकिङ भइसकेका छन्, उहाँले थप्नुभयो । सबै बाख्राको बीमा समेत गरिएको छ ।

नेपालमा ११ स्थानमा मात्र यस किसिमका बाख्रा पालन भइरहेको भन्दै उहाँले पछिल्लो समय कुनै विषयमा डिग्री हासिल गरेका यूवाहरु खाडीलगायत यूरोप अमेरिकामा सामान्य श्रमिक गर्न गइरहेका बेला यूवाहरुलाई नेपालमा पनि धेरै गर्न सक्ने सम्भावना छ भन्ने प्रेरणा दिन तथा स्वरोजगार बन्नका लागि आफूले व्यवसाय थालेको उहाँको भनाइ छ । सरकारले यूवाहरुलाई स्वदेसमा स्वरोजगार बनाउन राम्रो अनुदानको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले घरका बुबा, आमा, एक जना दाजु र एक जना भाई बाहेक अन्य सात जनालाई रोजगारी दिएको बताउनुभयो ।

आगामी तीन वर्षमा एक हजार बाख्राको संख्या पुर्याउने लक्ष्य रहेको भन्दै उहाँले खशीको मासु सस्तोमा उपलब्ध गराउने बताउनुभयो । एउटा बयस्क खसी करिब दुई सय केजीसम्म हुने उहाँको दाबी छ । बाख्रापालनबाट उत्पादित मलबाट खुर्सानी र लसुन समेत उत्पादन थाल्ने र बारबरी जातको बाख्राले दुध धेरै दिने भएकाले ती बाख्राको दुधबाट चीज उद्योग सञ्चालन गर्ने उहाँको योजना छ । बाख्राका लागि तीन सय बोट डाले घाँस र छ सय झाङ अम्रिसो लागाइसकेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार