काठमाडौँ । हरितालिका तीज २०७५ को अवसरमा शिखर छहारी साँस्कृतिक कला केन्द्रले आयोजना गरेको तेस्रो उपत्यकाव्यापी विवाहित महिला तीज नृत्य प्रतियोगिताको उपाधी सेलिबे्रसन को एडलले हात पारेको छ ।
जोरपाटी नारायण्टारमा अवस्थित हिम्स कलेजको हलमा “जो नाँच्छ उ बढी बाँच्छ” भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगितामा अत्तरखेल महिला समूह द्वितीय, गोकर्णेश्वर लाइट तृतीय तथा लिवर्टी एकेडेमी र जय मल्टिपल अभिभावक समूहले सान्त्वना पुरस्कार हात पारेको गाउँले इन्टरटेन्मेन्टका बलबहादुर खालिङले जानकारी दिनुभयो ।
विभिन्न १३ वटा समूहले भाग लिएको प्रतियोगितामा प्रथम हुनेले २० हजार रुपियाँ नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र, द्वितीयले १५ हजार रुपियाँ नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र र तृतीयले १० हजार रुपियाँ नगदका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे भने सान्त्वनाले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको खालिङले बताउनुभयो । ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले उद्घाटन गर्नुभएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, कला केन्द्रका अध्यक्ष कल्पना राजचल, काठमाडौं क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य कृष्ण राईले विजेता समुहलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा शिखर छहारी साँस्कृतिक कला केन्द्रमा प्रशिक्षण लिएर अहिले ख्याती कमाउन सफल चर्चित गायिका मेलिना राई, वाइल्ड रिपर्ज क्र्युका सुरेन्द्र राई, छमछमी सिजन १ का पूर्णबहादुर स्याङ्तान, छमछमी सिजन ३ का फाइनलिष्ट रविता मगर, नृत्यकार आकृति खालिङ राई, स्कुल डान्स च्याम्प सिजन १ का विजेता सरस्वती धिमाल, आइक्यान डान्सका उपविजेता मिङ्मा शेर्पालगायतलाई सम्मानित गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजन तथा कला केन्द्रका महासचिव महेश थापाले संयोजन गर्नुभएको उक्त प्रतियोगितामा प्रा. हनि श्रेष्ठ र नारायणदेवी प्रधानले निर्णयकको भूमिका निर्वाह गर्नुभएको थियो ।