थुलुङ दूधकोसी गाउँपालिका मुलुककै पहिलो ‘किवी भिलेज’

सोलुखुम्बुको गार्माका कृषक जाङ्बु शेर्पा प्रदेस नं. १ भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्रालयका कृषि सचिब हस्तबहादुर विष्टलाई किवी फर्म देखाउँदै । फाइल फोटो

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सबै भन्दा ठूलो गाउँपालिका थुलुङ दूधकोसी गाउँपालिका ‘किवी भिलेज’ घोषणा भएको छ । आर्थिक वर्ष २०७५/७६ को कूल बजेटबाट एक करोड रुपियाँ विनियोजन गरी किवी भिलेज घोषणा गर्ने देसकै पहिलो गाउँपालिका बनेको छ ।

केही वर्षयता किवी(ठेकीफल)को व्यवसायिक खेती शुरु गरिएको सोलुखुम्बुमा कृषकहरुको आकर्षण बढ्दै गएपछि ग्रामिण भेगका अन्न फल्ने खेतबारीमा किवी लगाइएको छ । गाउँपालिका अध्यक्ष असिम राईले परम्परागत रुपमा धेरै जग्गामा खेती गर्दा लगानी समेत नउठ्ने भएकाले आधुनिक र बढी आम्दानी दिने खेतीतर्फ जनतालाई आकर्षित गर्दै जनताको जीवनस्तर उकास्न किवीको व्यावसायिक खेती विस्तार गर्न लागेको बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो–गाउँपालिकाको ६० प्रतिशत जमिन किवी खेतीका लागि उपयुक्त देखिएको छ, हामीले किवी भिलेज घोषणा गरेपछि स्थानीय कृषकमा उत्साह थपिएको छ । गाउँपालिकाका नौ वडामध्ये आठ वडामा किवी खेती विस्तार गरिने भन्दै अध्यक्ष राईले सामूहिक तथा व्यावसायिक खेती गर्ने कृषकलाई गाउँपालिकाले बिरुवा, थाङ्ग्रा निःशुल्क उपलब्ध गराउने तथा प्राविधिक, मलखाद, सिँचाइमा सहयोग गर्ने बताउनुभयो । उहाँकाअनुसार एक हेक्टरभन्दा बढी जग्गामा खेती लगाउने व्यक्तिगत किसानलाई समेत गाउँपालिकाले सहयोग गर्ने छ ।

स्थानीयलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्य सहित प्रत्येक वर्ष बजेट बढाउँदै लाने उहाँको योजना छ । निर्वाहमुखी खेतीले आम्दानी भन्दा दुःख बढी भएकाले किवीको बजार विस्तार र ‘वाइन फ्याक्ट्री’ स्थापनाका लागि स्रोत जुटाउने काम भइरहेको भन्दै अध्यक्ष राईले पीपीपी मोडलमा पाँचदेखि १० करोड रुपियाँको लागतमा वाइन फ्याक्ट्री सञ्चालनबारे व्यापारीसँग छलफल भइरहेकोे जानकारी दिनुभयो ।

कृषि विकास कार्यालयको पहलमा सोलुखुम्बुमा आर्थिक वर्ष २०६९/७० सालमा पहिलो पटक सुरु गरिएको किवी खेतीको इतिहास सोलुखुम्बुमा पाँच वर्षको छ । हालसम्म करिब हजार १२ हजार किवीको बिरुवा करिब ४० हेक्टर क्षेत्रफलमा रोपिएको जिल्ला वागवानी केन्द्र सोलुखुम्बुका प्रमुख तथा किवी विशेषज्ञ चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । प्राकृतिक रुपमा एक हजार छ सय मिटरदेखि २५ सय मिटरसम्मको नेपालको पहाडी जङ्गलमा पाइने किवी दुधकुण्ड नगपालिकाको गार्मा, वेनी, तामाखानी, नेले, कांगेल, देउसा, मुक्ली, जुबु, लोखिम, सल्यान, टाक्सिन्दु, गोराखानी, खरिखोला र टाप्टिङलगायत करिब दर्जन बढी गाविसमा नेपाल सरकारको अनुदान तथा निजी लगानीमा व्यवसायिक खेती थालिएको छ ।

कृषकहरुलाई यसतर्फ आकर्षण गर्नका लागि व्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) र हिमाली आयोजनाले पनि अनुदान सहयोग गरेका छन् । किवी समुद्र सतहबाट एक हजारदेखि दुई हजार मिटरसम्मको हावापानी उपयुक्त हुने भए पनि उचित सिंचाइ र स्याहार पुगे समुद्री सतहबाट आठ सयदेखि दुई हजार नौ सय मिटरसम्म यसको खेती गर्न सकिने प्राविधिकको भनाइ छ ।

हिउँद र सुख्खा गर्मी मौसममा किवीलाई सिंचाइको आवश्यक व्यवस्था गर्नुपर्ने र माइनस २ डिग्री सेन्टीग्रेड वा १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम किवीले सहन नसक्ने प्राविधिकहरुको भनाइ छ । पाँचदेखि ६.८ पि.एच. भएको माटो किवीका लागि उपयुक्त मानिन्छ । एक बोट किवीलाई प्रतिवर्ष ५० केजी प्राङ्गरिक मल आवश्यक हुने र प्रतिरोपनी १३ देखि १५ वटा विरुवा रोप्नु उपयुक्त हुने बताइएको छ । कम्तिमा एक बोट किवीलाई दुई सय वर्गफिट जमिन आवश्यक पर्दछ ।

फलको राजा मानिने किवीमा संसारमा पाइने २७ पोसिलो फलमध्ये १६ खाद्यतत्व पाइने फलको रूपमा लिइन्छ । हेवार्ड, ब्रुनो, अलिसन, अब्बुट, मोन्टी, ग्रासी, रेड तथा गोल्डेन जात प्रचलित रहेको किवी यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त शक्तिबद्र्धक र क्यान्सर, पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि समेत उपयोगी मानिन्छ । किवीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार