बिजुली बलेपछि स्थानीय हर्षित

भर्खरै निर्माण सम्पन्न भएको विद्युतको क्षमता परीक्षणका क्रममा सहयोगी गाङ्ग हेन्जलरका साथमा स्थानीय ।

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ काँकुको च्याङ्मित्याङबासीको बिजुली बाल्ने वर्षौँदेखिको सपना पूरा हुने भएको छ । स्थानीय खोलाबाट गत वैशाखबाट निर्माण शुरु भएको २८ किलोवाट क्षमताको बिद्युत उत्पादन परीक्षण सफल भएपछि उनीहरुको सपना पूरा हुने भएको हो ।

माउण्टेन स्प्रिट डचल्याण्ड (जर्मन) मार्फत माउण्टेन स्प्रिट फाउण्डेसन नेपालको २८ लाख २७ हजार पाँच सय रुपियाँ सहयोग सहितको अगुवाइमा गाउँपालिकाको करिब २० लाख रुपियाँ तथा स्थानीयको संयुक्त लगानीमा विद्युत निर्माण भएको विद्युत निर्माण समितिका सचिब पासाङ लामा शेर्पाले जानकारी दिनुभयो । ४० घर उपभोक्ता रहेकोमा प्रतिघर ३५ हजारका दरले नगद उठाएको र नौ दिनको श्रमदान गरेको उहाँले बताउनुभयो ।

विगत लामो समयदेखि त्यस भेगका स्थानीयलाई विभिन्न किसिमका सहयोग गर्दै आएको माउण्टेन स्प्रिट डचल्याण्डका प्रमुख वल्फ गाङ्ग हेन्जलरले प्रयाप्त विद्युत नहुँदा स्थानीयलाई धेरै समस्या भएको देखेर सहयोग गरेको बताउनुभयो । त्यस विद्युतबाट गुम्बा, विद्यालय तथा स्थानीयलाई धेरै सहज हुने उहाँको भनाइ छ ।

स्थानीयले भरपर्दो विद्युत सेवाका लागि अनुरोध गरेपछि सहयोग गरेको माउण्टेन स्प्रिट फाउण्डेसन नेपालका संयोजक फुटी शेर्पाले बताउनुभयो । यस क्षेत्रका स्थानीयको जीवनस्तर माथि उकास्न विगतदेखि धेरै सहयोग गरेको बताउँदै उहाँले यस पटक हिटरलगायत सबै काम गर्न सक्ने क्षमता भएको विद्युत निर्माण गरेको जानकारी दिनुभयो ।

च्याङ्मित्याङ गुम्बाका अध्यक्ष समेत रहनुभएका स्थानीय कामे शेर्पाले वर्षौदेखि प्रयाप्त विजुली नहुदाँ गुम्बाका लागि धेरै दाउराको खपत हुने गरेका कारण वनजंगलको धेरै प्रयोग भइरहेको भन्दै अब विजुली बलेपछि दाउराको कम प्रयोगले वन संरक्षण हुनुका साथै गुम्बामा बस्नेको धुँवाका कारण स्वास्थ्यमा पर्ने असर समेत काम हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार