दुर्गमको सामूदायिक विद्यालय बन्यो जिल्लाकै प्रविधियुक्त विद्यालय


सन्तोष राउत/सोलुखुम्बु  । दुर्गम जिल्ला सोलुखुम्बुको अति विकट क्षेत्र मानिने महाकुलुङ गाउँपालिकाको छेस्काममा सञ्चालित छेस्काम माध्यामिक विद्यालय प्रविधियुक्त विद्यालय बनेको छ । सदरमुकामबाट पैदल करिब तीन दिन लाग्ने विद्यालयले आफ्नै व्यवस्थापनमा विद्यालयमा सिसि क्यामेरा, सेन्सर लाइट, साइरन जडित साँचो र विद्युतीय हाजिरीलगायतका प्रविधि प्रयोगमा ल्याएपछि जिल्लाकै विकट स्थानमा रहेको विद्यालय प्रविधियुक्त बनेको हो ।

एकान्त स्थानमा विद्यालय भवन रहेकाले समय समयमा विद्यालयमा तोडफोडका घटना हुन थालेपछि त्यसबाट सुरक्षित राख्न विभिन्न प्रविधि प्रयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्यालयका सबै कोठा र बाहिर गरी २४ वटा सिसि कयामेरा जडान गरिएको छ जसले चौबिसै घण्टा निगरानी भइरहन्छ । अत्याधुनिक क्यामेरा भएकाले कुन कुनामा कुन विद्यार्थी के गर्दैछन् जुम गरेर हेर्न सकन्छि ।

उच्च प्रविधिका क्यामेरा प्रयोग गरेकाले रातीको समयमा पनि काम गर्ने उहाँले बताउनुभयो । विद्यालयमा भएका सेन्सर लाइट मानिस तथा कुनै जनवार विद्यालय हाताभित्र प्रवेश गर्ने साथ बल्दछ । कार्यालयको ढोकामा प्रयोग गरिएको साँचो कसैले छोएमा साइरन बज्ने गर्दछ । यस्ता प्रविधिले रातको समयमा कसैले विद्यालयमा प्रवेश गरी गलत काम गर्नबाट जोगिने उहाँको विश्वास छ ।

मुख्य रुपमा कार्यालयको कोठाबाट कन्ट्रोल गर्न मिल्ने भएपनि इन्टरनेट चल्ने स्थान जहाँबाट पनि हेर्न सकिने प्रअ राईले बताउनुभयो । यसले विद्यालयको पठनपाठनमा समेत सकरात्मक सहयोग पुग्ने भएको छ । कक्षामा शिक्षक विद्यार्थीले के क्रियाकलाप गरिरहेकाछन्, शिक्षक अनुपस्थित भएको समयमा विद्यार्थी के गर्दैछन् भनेर हेर्न सकिने भएकाले विद्यार्थीमा स्वतः अनुशासन कायम हुने उहाँले बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक यादवकुमार आचार्यकाअनुसार सिसि क्यामेराका कारण विद्यार्थीको अनुशासन कायम गर्न सजिलो भएको छ । यस अघि वर्षेनि विद्यालयमा तोडफोडका घटना भइरहेकाले अब सुरक्षित हुने आचार्यको विश्वास छ । प्रविधिको प्रयोगले विद्यालय प्रशासन तथा परीक्षा सञ्चालनमा स्वतः सुधार हुने उहाँले बताउनुभयो ।

यसको साथै विद्यालयमा भर्चुअल कक्षा समेत सञ्चालन गर्न लागेको प्रअ राईले जानकारी दिनुभयो । त्यसमा काठमाण्डौँमा भएका शिक्षकसँग आफ्ना समस्याका बारेमा विद्यार्थीले फेस टु फेस कुरा गर्दै जानकारी लिन सक्छन् । जुन कक्षाका लागि क्यानेडियन नागरिकले ५२ ल्यापटप दिएर काठ्माण्डौँमा लाग्ने खर्च समेत सहयोग गर्नु भएको छ । विद्यालयले विद्यार्थीको नतिजा प्रकाशनका लागि समेत नयाँ एप्लिकेशन तयार गरी सजिलै काम गर्न थालेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार