विद्यालयमा विद्युतीय हाजिरी प्रभावकारी बन्दै

सोलुखुम्बुको गार्मा माविमा विद्युतीय हाजिरी गर्दै प्रअ विनोदसिं तामाङ ।

सन्तोष राउत/सोलुखुम्बु । करिब छ महिना अघिबाट सोलुखुम्बुको विभिन्न विद्यालयमा शुरु गरिएको विद्युतीय हाजिरी प्रभावकारी बन्दै गएको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको उपस्थितिको रेकर्ड तथा उपस्थितिलाई व्यवस्थित बनाउन शुरु गरिएको विद्युतीय हाजिरीले विद्यलयको प्रशासनिक व्यवस्थापनमा सहज भएको प्रधानाध्यापकहरुले बताएका छन् ।

समयानुकुल प्रबिधिलाई प्रयोग गर्दै विद्यालयमा विद्युतीय हाजिरी शुरु गरिएको गार्मा माध्यमिक विद्यालय गार्माका प्रधानाध्यापक विनोदसिं तामाङले बताउनुभयो । विद्युतीय हाजिरीले विद्यालय शिक्षक र कर्मचारीलाई थप जिम्मेवार समेत बनाएको प्रअ तमाङको भनाइ छ । त्यस्तै, चाँगेस्थान माध्यामिक विद्यालय केरुङमा पनि विद्युतीय हाजिरीले शिक्षक तथा कर्मचारीको विद्यालय आउने र जाने समयमा स्वतः सुधार भएको प्रधानाध्यापक रोहितकुमार कार्कीले बताउनुभयो ।

गार्मा माविसँगै सिंहकाली माध्यमिक विद्यालय तिङ्ला, छेस्काम माध्यमिक विद्यालय, केदार माध्यमिक विद्यालय नेचा, चाँगेस्थान माध्यमिक विद्यालय केरुङ, जन जागृति माध्यमिक विद्यालय सल्लेरी, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङले पनि विद्युतीय हाजिर शुरु गरेपछि धेरै प्रभावकारी भएको बताएका छन् । सोलुखुम्बुको शिक्षा क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहेको गैह्रसरकारी संस्था ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल) ले माध्यमिक शिक्षा सुधार परियोजना अन्तरगत विद्युतीय हाजिरी प्रयोगमा ल्याएको हो ।

विद्यालयमा शिक्षक समयमा नआउँदा प्रधानाध्यापकलाई प्रशासनमा धेरै कठिन भएको शिक्षक अनुपस्थित तथा विद्यालयबाट हाजिर मात्र गरेर चाँडै बाहिरिने समस्या कम गर्दै शिक्षाको गुणस्तर बढाउन यो प्रविधि प्रयोगमा ल्याएको रीड नेपाल सोलुखुम्बुका संयोजक कपिलदेव पुरीले बताउनुभयो । शिक्षक समयमा नआएर धेरै हैरान भएका प्रधानाध्यापकलाई सजिलो भएको भन्दै समय पालनामा शिक्षकहरु सजक हुन थालेको उहाँको भनाइ छ ।

यी सात विद्यालय बाहेक सोलुखुम्बुका अन्य केही विद्यालयहरुले पनि यसको प्रभावकारीतालाई देखेर विद्युतीय हाजिरी प्रयोगमा ल्याएका छन् । सबै विद्यालयको प्रशासनिक व्यवस्थापनमा सुधार भएको प्रअहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार