नेपालको संविधान जारी भएको भोलि तीन वर्ष पुग्दैछ । संविधान जारी भएको दिन घरघरमा दीपावली गरेर हर्षोल्लासका साथ मनाउने तयारी सरकारले गरेको छ । सरकारले सबैमा दीपावली गर्न पनि आह्वान गरेको छ ।
यसैगरी प्रदेश सरकारहरुले पनि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् । सरकार, विभिन्न दल र आम नागरिकले संविधान दिवस मनाउने तयारी गरिरहँदा दिवसलाई लिएर मधेश केन्द्रीत दलहरुका भने फरक धारणा आउन थालेका छन् ।
कुनैबेला संगै मोर्चामा रहेका मधेश केन्द्रीत दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच अहिले संविधान दिवसलाई लिएर मत बाझीएको छ । राजपा नेपालले संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ भने तराइका जिल्लामा हुने विरोधका कार्यक्रममा सहभागी हुन मन्त्रीहरुलाई नै खटाएको छ ।
तर यता, सरकारमा सहभागी रहेको संघीय समाजवादी फोरमले कालो दिवस मनाउनुको कुनै अर्थ र आवश्यकता नरहेको जनाएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान दिवसको विरोध नगर्ने प्रष्ट पार्नु भएको छ ।
आज विराटनगरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधान बारे रहेको असहमतिलाई संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भईसकेकोले संविधानको विरोध गर्न नहुने तर्क गर्नुभयो ।
प्रदेश सरकारमा सहभागी भएकाबाट नै संविधानको विरोध गर्नु हास्यास्पद भएको उहाँको भनाइ छ । तर यता, राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले भने संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा नेता कर्णले भोलि संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउन पार्टीका सबै नेताहरु जिल्ला–जिल्ला प्रस्थान गरिसकेको पनि जानकारी दिए । संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिले पनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु घाईते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको उहाँको भनाइ छ ।
नेता कर्णले सरकारले अहिलेसम्म पनि संविधान संशोधनको लागि कुनै होमवर्क नै नगरेको गुनासो पोख्नु भयो । उहाँले आफूहरुले संविधान अनुसार नै चुनाव लडेको बताउँदै निर्वाचनलाई पनि आन्दोलनको रुपमा उपयोग गरेको जिकिर गर्नु भयो । Radin NRN