काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतीशील दस्तावेज भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा मुल समारोह समितिले राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएकाले मुलुकलाई बलियो, समृद्ध र मर्या्दित बनाउने विश्वास व्यक्त गर्नुभएको हो ।
संविधानमा आवधिक निर्वाचन, मानवअधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलन सहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको उहाँले बताउनुभयो । संविधानमार्फत संवैधानिक सर्वोच्चतासहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै प्रधानमन्त्री ओलीले कतिपय मिल्न नसकेका कुरा संसोधन गर्न सकिने पनि वताउनुभयो । यस्तै सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई संवैधानिक रुपमा नै सस्थागत गरेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समृद्धि राष्ट्रिय संकल्प भएकाले सबै राजनीतिक दलका नेता र जनतालाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान पनि गर्नुभयो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शन, भएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानीमा पनि दिवशका अवसरमा कार्यक्रम सम्पन्न भएका छन् ।