आर्थिक अनियमितता नभएको गाउँपालिका अध्यक्षको दाबी, गलत प्रचार गरेर चरित्र हत्या गरेको ओरोप

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत गाउँपालिकामा आर्थिक अनियमितता र अख्तियारको दुरुपयोग भएको गलत प्रचार गरी चरित्र हत्या गर्न खोजेको आरोप लगाउनुभएको छ । प्रवक्ता निमराज तामाङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत अध्यक्ष राईले गाउँपालिकामा कुनै अनियमितता नभएको दाबी गर्दै बदनियतपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

गाउँपालिकाको विकास बिरोधी र पराजित मानसिकताबाट निर्देशित व्यक्तिहरुद्वारा आम नागरिकलाई भ्रमित पार्ने, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरुको मनोबल गिराउने र अन्ततः संघीयता र बलियो स्थानीय सरकारलाई असफल बनाउन यस प्रकारको दुष्प्रचार गरिएको हो, गाउँपालिकाको आ.व. २०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन गर्दा आर्थिक अनियमितता भएको तथ्यहीन र भ्रामक प्रचारमा कुनै सत्यता नरहेको माप्य दुधकोशी गाउँपालिकाबासी र सरोकारवाला निकाय एवं महानुभावहरुमा स्पष्ट पार्न चाहान्छौँ – विज्ञप्तीमा उल्लेख छ ।

हुँदैनभएको तथ्यहीन विषयलाई जबरजस्ती बङ्ग्याइ दिनरात जनसेवामा क्रियाशील जनप्रतिनिधि र कर्मचारीको सामाजिक प्रतिष्ठा र मर्यादामा आँच पु¥याउने, अनावश्यक रूपमा दुःख दिने, जनतालाई भ्रममा पारी आफ्नो निहित स्वार्थ पूरा गर्न लागेको परिवर्तन र विकास विरोधी समूह तथा सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने, सत्यतथ्यको खोजी बिना समाचार लेख्ने समेतलाई कानून बमोजिम कार्बाहीको दायरामा ल्याउन सरोकारवाला निकायहरुसँग विज्ञप्ती मार्फत माग गरिएको छ ।

गाउँपालिका र वडास्तरमा सञ्चालित सबै योजनाको भुक्तानी वडा कार्यालयको फरफारक सिफारिस, वडा र पालिकास्तरीय योजना अनुगमन तथा सहजीकरण समितिको अनुगमन, प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ता समितिबाट पेश भएको बिल, भर्पाइलगायत कागजात संलग्न राखी सिधै उपभोक्ता समितिको बैङ्क खातामा र स्वीकृत कार्यक्रम अनुसार मालसमान, सार्वजनिक निर्माण र परामर्श सेवा खरिद गरेको कम्पनी र आपूर्तिकर्तालाई पनि सिधै उनीहरुकै बैङ्क खातामा भुक्तानी दिइएको उहाँले स्पष्ट पार्नुभयो ।

त्यसतै, फर्निचर र फिक्चर तथा प्राविधिक/इन्जिनियरिङ उपकरण खरिदमा कुनै अनियमितता नभएको दाबी गर्दै गाउँसभाद्वारा विनियोजन भए बमोजिम सबै रकम खर्च पनि नभएको अध्यक्ष राइले बताउनुभयो । विभिन्न शिर्षक तथा चालूतर्फ छुट्याइएको रकम करिब ७० सत्तरी लाख रुपियाँ भन्दा बढी गाउँपालिकाको सञ्चित कोषमा बचत रहेको उहाँको भनाइ छ ।

वडा नं. ७ जाने सडकको कुन–कुन टोल हुँदै सडक ट्र्याक ओपन गर्ने भन्ने विषयमा भएको सामान्य विवाद जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुद्धारा २०७५ वैशाख ५ गते नै समाधान गरी योजना समेत सम्पन्न भैसकेको भन्दै त्यस्ता विषय पनि विवादित नै छन् भनेर गलत प्रचार गर्नु सान्दर्भिक र औचित्यपुर्ण नभएको विज्ञप्ती मार्फत दाबी गरिएको छ ।

गाउँपालिकाको सबै निर्णय तथा योजना कार्यान्वयन गर्दा प्रचलित कानुनको बर्खिलाप हुने गरि निजी स्वार्थ प्रेरित नभइ जुनसुकै निर्णय र सेवा प्रवाह गर्दा नागरिकको हितलाई केन्द्रमा राखी प्रचलित कानून बमोजिम गरिएको भन्दै कहीं गलत भएको भए नियमानुसार सजाय भोग्न तयार रहेको अध्यक्ष राईले बताउनुभयो । व्यक्तिगत नभई गाउँपालिकाको हितमा लागि काम गरेको उहाँको दाबी छ । गाउँपालिका अध्यक्ष राईलाई आर्थिक अनियमितता विवादमा मुछिएको समाचार आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार