सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्रका शिक्षक दरबन्दी मिलानका लागि उप समिति गठन गरेको छ । ३५ दिनभित्र प्रतिवेबदन पेश गर्ने गरी स्रोत व्यक्ति गोपालराज भूजेलको संयोजकत्वमा चार सदस्सीय समिति गठन गरेको हो ।
नगर शिक्षा समितिको पहिलो बैठकले नगर क्षेत्रभित्रका विद्यालयमा रहेका शिक्षक दरबन्दी मिलान संघीय, प्रदेस तथा नगरपालिकाको प्रचलित कनुन तथा मापदण्ड समेतका आधारमा गर्ने निर्णय गरेको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी दिनुभयो ।
उहाँकाअनुसार वैठकले विगत लामो समयदेखि सोलुखुम्बुको शिक्षा विकासमा काम गरिरहेको संस्था ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)ले नगरक्षेत्रभित्रका १९ वटा विद्यालयमा कार्यक्रम गर्न पेश गरेको प्रस्ताव स्विकृत गरेको छ भने शिक्षक महासंघको कार्यक्रमलाई बढीमा एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
वैठकले वडा कार्यालयहरुलाई तत्काल वडा शिक्षा समिति गठन गर्न निर्देशन दिएको छ । समितिले केही विद्यालयलाई कक्षा थपको अस्थायी अनुमति तथा नयाँ विद्यालय सञ्चालनको अनुमिति दिने भएको छ । नगरक्षेत्रभित्र कतिपय विद्यालयमा शिक्षक तथा विद्यार्थी अनुपात नमिलेकाले सकेसम्म मिलाएर दरबन्दी मिलान गर्ने नगर शिक्षा समितिका अध्यक्ष तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । शिक्षा विकासको मेरुदण्ड भएकाले शिक्षाको सुधारलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।