सन्तोष राउत/सोलुखुम्बु । विगत छ वर्ष अघिदेखि अलपत्र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको भवन निर्माण सम्पन्न भएपछि करिब १७ वर्षपछि सोलुखुम्बुका प्रहरीले आफ्नै भवनमा काम सञ्चालन गर्न पाएका छन् । तत्कालील द्वन्द्वका क्रममा वि.सं.२०५८ साल मंसिर १० गते सदरमुकाम सल्लेरीमा भएको आक्रमणबाट ध्वस्त भएको प्रहरी भवन निर्माण थालेपनि विभिन्न कारण देखाउँदै पटक पटक निर्माण रोक्दै बनाउँदै गर्दा बल्ल छ वर्षपछि भवन तयारी भएको हो ।
२०६९ साल जेठ ११ गतेबाट करिब तीन करोड ५४ लाख रुपियाँको लागतमा भवन निर्माणको ठेक्का पाएको इन्द्रेणी एपेक्स कन्स्ट्रक्सन गाईघाटले विगत लामो समयदेखि विभिन्न कारण देखाउँदै पटक पटक म्याद थप्दा समेत निर्माण अलपत्र छोडेपछि पछिल्लो समय सोलुदुधकुण्ड नगरपालिका सहितको लगानीमा निर्माण सम्पन्न भएको छ । नगरपालिकाले करिब नौ लाख रुपियाँ लगानी गरेको सोलुदुधकुण्ड नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभएको छ ।
नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको आचरण र व्यवहार जनताको हितअनुसार हुनुपर्ने भन्दै जनासँग मिलेर काम गर्न निर्देशन दिनुभयो । प्रहरी भएको ठाउँमा कुनै गुण्डागर्दी नचल्ने उहाँले बताउनुभयो । सोलुखुम्बुमा अर्बौँका विद्युत आयोजना निर्माण भइरहेकाले कसैले गुण्डागर्दी देखाएर रकम असुल्न खोजेमा नियमानुसार कार्वाही गर्न कसैलाई सोध्नु नपर्ने बताउनुभयो ।
सोही अवसरमा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले जनताका चाहना पूरा गर्न नयाँ भवनले सहजता प्रदान गर्ने भन्दै अपराध मुक्त बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै १ नं. प्रदेसको गाउँपालिका महासंघका कोषाध्यक्ष तथा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले स्थानीय तहमा बैङ्क समेत स्थापना भइसकेकाले बलियो प्रहरी इकाई स्थापना गर्न माग गर्नुभयो ।
जिर्ण र असुरक्षित भवनबाट भन्दा नयाँ भवनबाट अझ जनमुखी, व्यवसायिक र प्रभावकारी सेवा प्रवाह गर्न मद्दत पुग्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जिल्ला न्यायधीस नारायणप्रसाद सुवेदी, जिल्ला समन्वय समितिका संयोजक विरकुमार राई, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पालगायत विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख तथा राजनीतिक दलका प्रमुख र सर्वसाधारणको उपस्थीति रहेको थियो ।
प्रहरी कार्यालय नेपाली सेनाको कम्पाउण्डभित्रबाट सञ्चालन गर्नुपर्दा प्रत्यक्ष जनतासँग सरोकार राख्ने दैनकि कार्य सञ्चालन गर्दा समस्या भएको थियो । प्रहरी प्रधान कार्यालय र शान्ति तथा पुनः निर्माण मन्त्रालयको शान्ति कोषबीच नौ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि छ वर्ष लागेको हो ।
२८ रोपनी जग्गामा निर्माण गरिएको भवनमा सात वटा ब्लक रहेका छन् । निर्माणाधीन भवनमा तीन वटा ब्यारेक, २२ वटा कोठा भएको कार्यालय भवन, जुनियर तथा महिला प्रहरीका लागि डे«सिङ कक्ष र एउटा भान्छाघर छन् । त्यस्तै, थुनुवाहरु र उनीहरुका बच्चाका लागि तीन कोठा रहका छन् ।