सोलुखुम्बु । नेपाल प्रहरीका महानिरीक्षक सर्र्वेन्द्र खनालले निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणमा प्रहरीको त्रुटी भएको स्विकार गर्नु भएको छ । रिपोर्टर्स क्लब सोलुखुम्बुका अध्यक्ष भानुभक्त निरौलाको अध्यक्षतामा सल्लेरीमा भएको साक्षात्कार कार्यक्रममा महानिरीक्षक खनालले त्रुटी गर्ने प्रहरीलाई निलम्बन गरिएको र हदैसम्मको कार्वाही हुने बताउनु भएको छ ।
नेपाल प्रहरीमा खराब ब्यक्तिलाई कुनै स्थान नदिईने भन्दै कार्वाही गरेर प्रहरीको छवि उच्च पार्ने बताउनुभयो । उच्च स्तरीय प्रविधिको अभावका कारण निर्मला प्रकरणको दोषी पत्ता लगाउन समस्या भएको भन्दै उहाँले छिट्टै अपराधीहरुको पहिचान गर्ने दाबी गर्नुभयो । जनताको प्रहरी बनाउने आफ्नो मिसन रहेको उल्लेख गर्दै महानिरीक्षक खनालले बलात्कारका घटना न्युनिकरणमा सबैको हातेमालोको आवश्यकता औँल्याउनु भयो ।
केही ब्यक्तिका कारण सिंगो संगठन बद्नाम भईरहेको भन्दै सुनकाण्डका ठूला माछा खोज्ने अभियानमा रहेको महानिरीक्षक खनालले जानकारी दिनुभयो । लापरबाही गर्ने ठेकेदारलाई तह लगाउने अभियान नरोकिएको भन्दै उहाँले निर्माण क्षेत्रको दादागिरी अन्त्य गर्ने उद्घोष गर्नुभयो ।
साक्षात्कारमा पत्रकारको जिज्ञासाको जवाफ दिँदै प्रहरी प्रमुखखनालले देशमा गुण्डा राजको अन्त्य गर्ने उद्घोष गर्दै राजनैतिक संरक्षणमा हुने त्यस्ता गतिविधिको पनि अन्त्य गर्ने धारणा राख्नु भयो । दशैँ तिहार र छठ पर्व जस्ता चाडको लागि उच्च सुरक्षा सतर्कता अपनाएको खनालको भनाइ छ ।