शिक्षक महासंघको शैक्षिक व्यवस्थापन अन्तरक्रिया शुरु


सन्तोष राउत/सोलुखुम्बु । ‘अघिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नाराका साथ नेपाल शिक्षक महासंघ सोलुखुम्बुले स्थानीय तह, शिक्षा र शैक्षिक व्यवस्थापन विषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शुरु गरेको छ ।
पछिल्लो समय वर्तमान संविधानअनुसार संघीय र प्रदेस कानुन नबनेको सन्दर्भमा स्थानीय तहहरुले आफ्नै तरिकाले शिक्षा ऐन निर्माण गरी लागू गर्ने क्रममा देखिएको अन्योलताका विषयमा शिक्षाविद्, पेशागत महासंघका केन्द्रिय नेतृत्व, माविका प्रधानाध्यापकहरु तथा शिक्षा सम्बन्धी कानुनका जानकार समेतलाई उपस्थित गराई कार्यक्रमको आयोजना गरिएको हो ।
जनप्रतिनिधिलाई समेत सहभागी गराएर जिल्लाको शिक्षामा देखिएको अन्योलतालाई न्यूनिकरण गर्दै शिक्षाको गुणस्तरीय विकासका लागि गरिएको कार्यक्रममा जनप्रतिनिधिहरुले भने आसनग्रहणका क्रममा मर्यादाक्रम नमिलेको भन्दै बहिस्कार गरेका छन् । मुख्य सरोकारवालाहरुनै बाहिरिएपछि कार्यक्रम खल्लो भएको आयोजकले जनाएको छ ।
सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुका अध्यक्ष प्रभुराम बस्नेतले पछिल्लो समय शिक्षा जस्तो संवेदनशिल क्षेत्रलाई शिक्षा २०२८ साल भन्दा पछाडीको जस्तो भइरहेको भन्दै शिक्षकलाई धेरै पेल्न खोजे वारपारको आन्दोलन गर्न तयार हुनुपर्ने बताउनुभयो । त्यस्तै, नेपाल शिक्षक संघ सोलुुखुम्बुका काबा अध्यक्ष राजेन्द्र बस्नेतले शिक्षकका नेताहरु आफ्नो पक्षको सरकार हुँदा पनि शिक्षकको हितका सवालमा अघि बढ्न आग्रह गर्नुभयो ।
सोही क्रममा नेपाली काँग्रेसका जिल्ला सचिव धनजन राईले जिल्लाकै शैक्षिक बागडोर सम्हाल्ने बौद्धिक जगतले गरेको कार्यक्रम बहिष्कार गरेर जनप्रतिनिधिले शैक्षिक आतङ्क मच्याउन खोजेको आरोप लगाउनुभयो । आफ्नो आलोचना हुने डरले बाहिरिएको आरोप लगाउँदै राईले निर्वाचित भएको दम्भमा शिक्षामा दमन गर्न खोजे दुर्घटना हुने चेतावनी दिनुभयो ।
कार्यक्रममा कानुनविद् अतितबाबु रिजालले हालसम्म शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ नै कायम रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताउनुभयो । संविधानले संविधान जारी भएको तीन वर्षसम्म कानुन बनाउने र सो अवधिसम्म पुरानै कानुन लागु हुने उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार