शरद रेग्मी, दाङ/ तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि छुटेको हाईस दुर्घटना हुँदा ६ जनाको निधन भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका—९ को अगैया जंगलमा हाईस र ट्रक ठोक्कीदा ६ जनाको निधन भएको हो ।
दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र बाँकी २ जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिनुभएको छ । १७ जना घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हाइस र लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा ठोक्कीदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हाइसले बसलाई ओभरटेक गर्ने समयमा दुर्घटना भएको बुझिएको छ । घटनाको बारेमा थप विवतरण आउन बाँकी रहेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिनुभएको छ । radionrn