सोलुखुम्बु पत्रकारीता पुरस्कार २०७५ राई र श्रेष्ठलाई


सन्तोष राउत/सोलुखुम्बु । नेपाल पत्रकार महासंघ सोलुखुम्बुले पहिलो पटक स्थापना गरेको सोलुखुम्बु पत्रकारिता पुरस्कार २०७५ बाट दुई पत्रकार पुरस्कृत भएका छन् । जिल्लामा क्रियाशिल पत्रकारिता गर्ने एक जना पुरुष र एक जना महिलालाई शनिबार महासंघको वार्षिक साधारण सभाका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

सोलुखुम्बुबाट सञ्चालित सोलु एफ.एम.मा कार्यरत पत्रकार नुतन श्रेष्ठ र हिमाल एफ.एम.मा कार्यरत पत्रकार विना राईलाई नगद पाँच हजार पाँच सय पच्पन्न रुपियाँ नगद, ट्रफी तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । सो अवसरमा विगतमा पत्रकार महासंघको विभिन्न पदमा रही काम गरेका विगतको स्थानीय तहको निर्वाचनमा सहभागी भई निर्वाचित पूर्व दुई जना पत्रकार उत्रमान राई र दाडोमा शेर्पालाई सम्मान पत्र प्रदान गरिएको छ ।

पत्रकार महासंघका पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठको संयोजकत्वमा गठित छनोट समितिले गरेको निर्णयका आधारमा परस्कार प्रदान गरिएको पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्गममा पत्रकारिता गर्ने पत्रकारलाई उत्साह थप्दै व्यवसायिक बनाउनका लागि पुरस्कार स्थापना गरेको उहाँको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राईले जिल्लामा पत्रकारिताको विकास भइरहेकाले यस्ता पुरस्कार तथा सम्मानले अझ अनुशासित र मर्यादित पत्रकारिता गर्न उत्प्रेरणा मिल्ने भन्दै पत्रकारिताको व्यवसायिक विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले समाजको विकासमा पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै सत्य तथ्य समाचारमा ध्यान दिन आग्रह गर्नुभयो ।

पुरस्कृत हुने पत्रकारले आफूले पाएको पुरस्कारले अझ जिम्मेवार र कर्तव्यनिष्ठ बन्न प्ररणा मिलेको प्रतिक्रिया दिएका छन् । महासंघलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको छ । साधारणसभामा नेपाल पत्रकार महासंघ सोलुखुम्बुका पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठ, प्रहरी प्रमुख शालिग्राम शर्मालगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार