सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ केरुङकी ९० वर्षिया पेम्बाकिली शेर्पाले घर छेउमानै स्वास्थ्य परीक्षण गर्न पाउँदा धेरै खुशी भएको बताउनुभयो । उच्च रक्त चापको समस्या भएकी शेर्पाले भन्नुभयो– बुढेसकालमा जिल्ला अस्पताल गएर डाक्टरलाई जाँच गराउन गाह्रो भएका बेला यही डाक्टर आएर जाँचेर निःशुल्क औषधी दिँदा खुशीको त कुरै नगरौँ, नगरपालिकालाई धन्यवाद छ । त्यस्तै, गार्माकी ९१ वर्षिया तेलीमाया भूजेलले पनि घर नजिकै आफ्नो स्वास्थ्य जाँच गराएर निःशुल्क औषधी समेत पाएपछि ढुक्क भएको बताउनुभयो ।
नगरपालिकाले वडावासीलाई सम्बन्धित वडामा रहेको स्वास्थ्य चौकीमा चिकित्सकस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएपछि उहाँहरु जस्ता सयाँै बिरामीलाई सहज भएको हो । नगरपालिकाले स्वास्थ्य चौकीमा चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा गर्भवती महिलाको भिडियो एक्स–रे कार्यक्रम अन्तरगत सबै वडामा एक/एक दिन एमबिबिएस डाक्टर सहतिको टोलीले सेवा दिएको सोलुदुधकुण्ड नगरपालिकाका स्वास्थ्य संयोजक चमरबहादुर मगरले जानकारी दिनुभयो ।
सो क्रममा ६८० विभिन्न किसिमका बिरामीले स्वास्थ्य जाँच गराएका छन् भने ७८ जना गर्भवती महिलाले भिडियो एक्स–रे सेवा लिएका छन् । जसमा गोराखानी स्वास्थ्य चौकीमा १७९ विरामी र १३ जना गर्भवती, टाप्टिङ स्वास्थ्य चौकीमा ९२ जना बिरामी र १३ जना गर्भवती, केरुङ स्वास्थ्य चौकीमा ५६ जना बिरामी र १९ जना गर्भवती, तिङला स्वास्थ्य चौकीमा ५१ जना बिरामी र आठ जना गर्भवती, गार्मा स्वास्थ्य चौकीमा ९० जना बिरामी र पाँच जना गर्भवती, टाक्सिन्दु स्वास्थ्य चौकीमा ९९ जना बिरामी र आठ जना गर्भवती, वेनी स्थास्थ्य चौकीमा ३० जना बिरामी र एक जना गर्भवती, तामाखानी स्वास्थ्य चौकीमा ११३ जना बिरामी र नौ जना गर्भवती महिलाले स्वास्थ्य सेवा लिएका छन् ।
जनताले विश्वास गरेर निर्वाचित गरेपछि आफ्नो मुख्य जिम्मेवारी जनताको सेवा गर्नु भएकाले सकेसम्म घरदैलोमा सेवा दिन तल्लिन रहेको नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । दुर्गम गाउँमा अझै पनि दुर्गमता तथा आर्थिक अवस्थाका कारण ठूलै विरामी हुँदा बाहेक स्वास्थ्य जाँच गराएर औषधी प्रयोग गर्न नसकिरहेका बेला सेवा र चेतना दुबैका लागि यस्ता कार्यक्रम गरिएको उहाँको भनाइ छ । उहाँकाअनुसार नगरपालिकाले प्रत्येक महिना ‘क’ वर्गका अपाङ्ग र ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा पनि दिइरहेको छ ।
कार्यक्रम सञ्चालनका लागि आठ लाख रुपियाँ रकम विनयोजन गरिएको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो । उहाँको मुख्य गरी निःशुल्क वितरण गरिने औषधीमा उक्त रकम खर्च भएको र चिकित्सकको टोलीका लागि यातायात, खाना बस्नका लागि खर्च भएको बताउनुभयो ।