गुणस्तरीय शिक्षाका लागि बाल विकासमा जोड

प्रारम्भिक बालविकास शिक्षण विधि सिक्दै शिक्षिकाहरु ।

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुमा गुणस्तरीय शिक्षाका लागि बालविकासको जग बलियो बनाउन थालिएको छ । जिल्लाको शिक्षा विकासमा विगत लामो समयदेखि काम गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपालले जिल्लाका सात वटा विद्यालय छनोट गरी प्रारम्भिक बाल विकासको काम शुरु गरेको हो ।

जिल्लाका त्रिभुवन विद्योदय आआधारभूत विद्यालय मुक्ली, पेल्माङ मावि बुङ, रामपुर आआधारभूत विद्यालय काँकु, लिढुङ्गा आआधारभूत विद्यालय सोताङ, शहिद नरनाथ आधारभूत विद्यालय नेचा, बुढा किञ्जा आधारभूत विद्यालय भकाञ्जे र गार्मा मावि गार्मामा कार्यरत बाल विकास कक्षाका शिक्षिकाहरुलाई १० दिने आवासीय तालिम प्रदान गरिएको छ । तालिममा पाँच बर्षभित्रका बालबालिकामा मनोरञ्जनात्मक सिकाइको लागि ज्ञान र सीप विकासका तरिका सिकाइएको छ ।

प्रारम्भिक बालविकास कक्षाका शिक्षिकाहरुले सिकेका सीप कक्षाकोठामा लागु गर्ने बताएका छन् । शहिद नरनाथ आधरभूत विद्यालयकी शिक्षिका कुमारी खनालले सिकाइको जग बलियो बनाउनका लागि तालिम सार्थक बनेको बताउनुभयो । उहाँले भन्नुभयो– जग बलियो भएको घर सुरक्षित भएजस्तै बाल विकासकै अवस्थामा सिकाइको जग बलियो बनाउन पाए उच्च शिक्षासम्म सहयोग पुग्नेछ । तालिमले आफूलाई प्रभावकारी मनोरञ्जनात्मक सिकाइको सीप दिएको खनालको भनाइ छ ।

रामपुर आधारभूत विद्यालयकी शिक्षिका टीका राईले शिक्षण विधिको सिकाइले पठनपाठनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । अहिलेसम्म आफ्नो मात्र ज्ञानले बाल विकासको कक्षा सञ्चालन गरिरहेकोमा तालिम लिएपछि कक्षाकोठा व्यवस्थापन र पठनपाठनमा सुधार धेरै कुरा जनकारी भएकोे उहाँले बताउनुभयो ।

नेपाल सरकारले निर्माण गरेको पाठ्यक्रममा आधारित रहेर गीत, कथा, कविता र खेलको माध्यमबाट बालबालिकाको शारीरिक, बौद्धिक, सामाजिक, संवेगात्मक र भाषिक तथा सांस्कृतिक पक्षको विकासको लागि प्रारम्भिक बालविकासको कक्षा सञ्चालन गरिने भएकाले बालविकास कक्षामा हुने सिकाइ क्रियाकलापले भाषा, गणित, विज्ञान, स्वाबलम्बन, सिर्जना र अभिनयको क्षेत्रलाई समेट्न सक्नुपर्ने सरेकारवालाको भनाइ छ ।

बालबालिकाको स्वागतदेखि बिदाइसम्म प्रार्थना, बाहिरी खेल, सरसफाई जाँच, प्राथमिक उपचार, बाल पुस्तिका अवलोकन, खाजा, आराम, राष्ट्रिय गान, सरस्वती बन्दना, हाजिरी, बार, हप्ता र गतेको गीत र अभिनयको माध्यमबाट विषयवस्तु प्रवेशले मात्र बालविकास कक्षा सफल बन्ने रीड नेपालका शिक्षा विकास अधिकृत केशव गिरीले बताउनुभयो । बालविकासका शिक्षिकालाई कक्षाकोठा व्यवस्थापन, पाठ्यक्रममा आधारित बाल सामाग्री निर्माण, बालमनोविज्ञान अनुसारको सिकाइ लगायतका क्षेत्रमा तालिम दिएको उहाँले बताउनुभयो ।

तालिममा सिकेका सीपलाई कक्षाकोठामा कसरी कार्यान्वयन हँुदैछ भन्ने कुराको अनुगमन गर्ने र आएका समस्यालाई समाधानको लागि सहयोग गर्ने शिक्षा विकास अधिकृत अमरबहादुर सिंहले बताउनुभायो । एक दशकदेखि शैक्षिक सुधारका लागि काम गर्दै आएको रीड नेपालको प्रारम्भिक बालविकास कक्षालाई सुधार गर्ने कामलाई सरोकारवालाहरुले सकारात्मक रुपमा लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार