दुर्गमका विद्यालयलाई प्रविधियुक्त बनाइदैँ


सन्तोष राउत/सोलुखुम्बु । पछिल्लो समय दुर्गमका विद्यालयलाई प्रविधियुक्त बनाउँदै लैजान थालिएको छ । दुर्गम जिल्ला सोलुखुम्बुका १८ वटा विद्यालयलाई युगानुकुल प्रविधिमैत्री बनाउन ४० वटा ल्यापटप वितरण गरिएको छ । काँग्रेस नेता तथा उद्योग व्यवसायी प्रकाशसिंह कार्की र लायन्स क्लब काठमाण्डौँको संयुक्त लगानीमा जिल्लाको नेचासल्यान गाउँपालिकाभित्रका नेचा र सल्यानका विद्यालयलाई डेल कम्पनीको ल्यापटप वितरण गरिएको हो ।

सूचना तथा प्रविधिको प्रयोग गरी पठनपाठनलाई सहज तुल्याउन आफ्नो व्यक्तिगत लगानी समेतमा ल्याप टप कम्पूयुटर वितरण गरेको काँग्रेस नेता कार्कीले बताउनुभयो । प्रति कम्प्युटर ५६ हजार परेकोमा कार्कीले २५ हजार रकम सहयोग गर्नुभएको हो । गएको निर्वाचनमा प्रदेस सभामा उमेदवार बन्नुभएका कार्कीले शिक्षाको सुधारका लागि ल्यापटप वितरणमा सहयोग गरेको बताउनुभयो । अबको राजनीति समाज सुधारका लागि गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरु विकासका काममा चनाखो रहनुपर्ने उहाँले बताउनुभयो । अब केही समयपछि महाकुलुङ, सोताङ र थुलुङ दुधकोशी गाउँपालिकाका केही विद्यालयलाई पनि वितरणको योजना रहेको बताउनुभयो ।

नेचा क्षेत्रका गणेशथान मावि, कालिका आधारभूत विद्यलाय, तिनकन्या आधारभूत विद्यालय, कुन्तादेवी आधारभूत विद्यालय, जनजागृती आधारभूत विद्यालय, भुमेस्थान आधारभूत विद्यालय, आर्दश मिलन आधारभूत विद्यालय, शहिद नरनाथ आधारभूत विद्यालय, जन्मज्योति आधारभूत विद्यालय, सिंहदेवी आधारभूत विद्यालय, महेन्द्रदोय आधारभूत विद्यालय र हिमालदर्शन क्याम्पसले ल्यापटप पाएका छन् ।
त्यस्तै, सल्यान क्षेत्रका महेन्द्रोदय माध्यमिक विद्यालय सहित सरस्वती आधारभूत विद्यालय, जनप्रिय आधारभूत विद्यालय, शहिद स्मृति आधारभूत विद्यालय, सगरमाथा आधारभूत विद्यालय र जलेश्वरी आधारभूत विद्यालयलाई पनि ल्यापटप वितरण गरिएको छ ।

सोही अवसरमा नेता कार्कीको निजी लगानीमा महेन्द्रोदय माध्यमिक विद्यालय सल्यानका विद्युतको पहुँच भन्दा बाहिर रहेका २५ जना विद्यार्थीलाई सोलार लाइट वितरण गरिएको छ । घण्टौसम्म चार्ज टिकाउ हुने लाइट काँग्रेस नेता कार्कीको निजी लगानीबाट वितरण गरिएको हो । ल्यापटप वितरण गरेपछि लायन्स क्लब काठमाण्डौँका अध्यक्ष हरिशंकर निरौलाले प्रविधिको सदुपयोगका लागि दक्ष शिक्षकका लागि विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले सोलुखुम्बुको तल्लो क्षेत्रमा गैरसरकारी संस्थाहरुले कार्यक्षेत्र नबनाएको अवस्थामा विद्यालयलाई सहयोग प्राप्त हुनु खुशीको कुरा भएको बताउनुभयो । सहयोगको दुरुपयोग हुन नदिन गाउँपालिकाले भूमिका खेल्ने अध्यक्ष बाँस्तोलाको भनाइ छ । उहाँले शैक्षिक कमजोरी पहिचान गरी सुधारका लागि शैक्षिक सम्मेलन गर्ने गाउँपालिकाले तयारी थालेको भन्दै गाउँपालिकाले प्रविधिमैत्री सिकाइका लागि सहयोग गर्ने गरी बजेटको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

ल्यापटप सहयोग पाएपछि विद्यालयहरुले शैक्षिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । महेन्द्रोदय आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणकुमार राईले विद्यालयमा ल्यापटप पाएपछि प्रविधिसँग नजिक हुन सहज हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार