सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको विकट क्षेत्र मानिएको चार गाउँपालिकालाई जोड्ने दुधकोशी नदीमा बेलिब्रिज डेढ महिनाभित्र निर्माण हुने भएपछि कोशीपारीका स्थानीय उत्साहित भएका छन् । मन्त्रीस्तरीय बैठकले दुधकोशी नदीको दिप्लीघाटमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि स्थानीय उत्साहित भएका हुन् ।
विगत केही वर्षअघिदेखि सडक सञ्चालनमा आएपनि पुल नहुँदा आवतजावतमा सास्ती खेपेका स्थानीयले पुल बन्ने भएपछि हिउँद वर्षा बाहै्र महिना गाडी चढ्न पाउने सपना बुन्न थालेका छन् । सोताङका स्थानीय शिक्षक इश्वर विवश बस्नेतले भन्नुभयो– हालसम्म वर्षायाममा वारीको वारी र पारीकोे पारी मात्र यातायात सेवा चलिरहेको बेला अब भने ढुक्कसँग गाडी चढ्न पाउने भइयो । सदरमुकाम तथा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा सीधा आवतजावत गर्न सजिलो हुने उहाँले बताउनुभयो ।
जिल्लाका सोताङ, महाकुलुङ, थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकालाई जोड्ने दिप्ली घाटमा बेलिब्रिज निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको मन्त्रीस्तरीय निणर्यले कोशीपारीको पर्यटनमा समेत सकरात्मक प्रभाव पार्ने सरोकारवालाहरुको भनाइ छ । थुलुङदुधकोशी गाउँपालिकाका यूवा योग्यप्रसाद राईले भन्नुभयो– कोशीपारी साँस्कृतिक पर्यटन तथा सिलिचो पिक, मेरापिक भ्याली, पाँच पोखरी जस्ता पर्यटकीय क्षेत्रमा जान समेत सिधा पर्ने भएकाले पुलको महत्व धेरै छ ।
सीधा यातायात नुहँदा बिरामीको उपचारका लागि हेलिकप्टर चार्टर गरेर ज्यान बचाउँदै आएका त्यस क्षेत्रका बासिन्दालाई यो पुलले स्थास्थ्य सेवा लिन तथा पर्यटन व्यवसायबाट आर्थिकस्तर उकास्न पनि मद्दत पुग्ने स्थानीय बताउँछन् । यसअघि हिउँदमा भने ह्युमपाइप विच्छ्याएर यातायात सञ्चालन गरिदैँ आएको छ ।
त्यस क्षेत्रको बासिन्दा समेत रहनुभएका नेपाल कम्न्यूनिष्ट पार्टीका प्रदेस नं. १ सदस्य कज्र्याङ शेर्पाले पुल निर्माणका लागि आफूले धेरै पहल गरेको भन्दै यो पुलले निर्माणाधीन ठूला हाइड्रो पावर, भूकम्प पुनर्निर्माणको सामान ढुवानी सहज हुने, उपभोग्य वस्तु सस्तो हुने तथा स्थानीयको सदरमुकाम र केन्द्रसँग प्रत्यक्ष सम्बन्ध भई जिवनस्तर माथि उठ्ने बताउनुभयो ।
उहाँकाअनुसार खोटाङको जयरामघाटको पुल दिप्लीघाटमा पठाउने सरकारको निर्णय भएको र ढुवानी तथा जडान खर्चका लागि महाकुलुङ गाउँपालिकाले ५० लाख रुपियाँ, १ नं. प्रदेसले ४६ लाख रुपियाँ, सोताङ गाउँपालिकाले ४० लाख रुपियाँ बजेट विनयोजन गरेको छ । बाँकी नपुग भएमा प्रदेसले थप्ने उहाँले जानकारी दिनुभयो ।