सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको चेतना विस्तार युवा परिवारले ३५ जना तेक्वान्दो खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा भएका खेलमा सोलुखुम्बु जिल्लाको तर्फबाट सहभागी भई पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष जगनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रममा कोरियन प्रशिक्षक योङदोल कोङले सोलुखुम्बु जिल्लाको तेक्वान्दो क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । कोङले चेतना विस्तार युवा परिवारलाई तेक्वान्दोको खेल सामग्री समेत प्रदान गर्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेश न. १ का सदस्य उत्तमकुमार बस्नेतले खेलकुदको माध्यमले अन्तर्राष्ट्रिय सम्बन्धलाई जोडने बताउनुभयो । आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत खेल क्षेत्रको भुमिका हुने भन्दै प्रदेश सरकारले पनि खेललाई प्राथमिकतामा राखेको बताउनुभयो । नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको काम भइरहेको बताउनुभयो ।
त्यस अवसरमा आयोजना गरिएको खुला चेस प्रतियोगितामा नेचासल्यान गाउपालिका–३ का होमप्रसाद कट्टेल प्रथम, खोटाङका सौधन राई दोस्रो र नेचासल्यान–४ का छविलाल बाँस्तोला तृतिय हुनु भएको छ । विजेतालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपियाँका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसै क्रममा सोलुखुम्बुका स्थानीय रेडियोहरु हिमाल एफ.एम र सोलु एफ.एम, गोरखापत्र दैनिकका जिल्ला समाचारदाता सन्तोष राउत, कान्तिपुर दैनिकका ओखलढुङ्गा समाचारदाता कुम्भराज राईलाई मोफसलमा रहेर पत्रकारिताका माध्यामबाट समाज रुपान्तरणमा भुमिका खेलेकोमा प्रशंसा गर्दै सम्मान गरिएको छ ।
जिल्लामै पहिलो पटक भएको खेलाडी सम्मान कार्यक्रममा सोलुखुम्बुमा रहेर तेक्वान्दो प्रशिक्षण गर्नुहुने न्वाङ केशाङ लामालाई सम्मान गरिनुका साथै विशिष्ट पाहुनाहरुलाई मायाको चिनो प्रदान गरिएको छ । खेलाडीहरुको ग्रेडिङ समेत गरिएको छ । ग्रेडीङमा १५ खेलाडी सहभागी भएका छन् ।