वन जोगाउन ग्याँस वितरण


हिमशिखर समाचारदाता/सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ मा पर्ने मोपुङ सामुदायिक वन उपभोक्ता समितिले उपभोक्तालाई एलपी ग्याँस वितरण गरेको छ । पछिल्लो समय वन जङ्गल मासिने क्रम बढेपछि इन्धनका रुपमा दाउराको प्रयोग घटाउन समूहभित्रका उपभोक्तालाई ग्याँस वितरण गरिएको मोपुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिनुभयो ।

हिमाली जिल्ला भएकाले चिसो बढी हुँदा दाउराको खपत बढी हुने गरेको पाइन्छ । स्थानीयले आगो ताप्न तथा खाना पकाउन पूर्ण रुपमा दाउराको प्रयोग गर्ने भएकाले वन फँडानी बढिरहेको छ । विकल्प सहित वन संरक्षणको उद्देश्यले नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले उपभोक्तालाई ग्याँस सिलिन्डर सहित पुरै सेट वितरण गर्नुभएको हो ।

ग्याँस हस्तान्तरण गर्दै मेयर शेर्पाले आफ्नो सफा, स्वच्छ र हरियाली नगर बनाउने चाहानामा यसले थप सहयोग पुगेको बताउनुभयो । समूहका ४६ घरधुरी उपभोक्तालाई ग्याँस वितरण गर्ने लक्ष्य अनुसार करिब दुई लाख रुपियाँको लगानीमा ग्याँस वितरण गरिएको उपभोक्ता समूहले जनाएको छ । उक्त रकम समूहको आन्तरिक आयस्रोतबाट खर्च गरिएको हो ।

वन जङ्गल संरक्षण गर्न तथा आफ्नो वडाका बस्तीलाई धुवाँ मुक्त बनाउन आफ्नै लगानीमा सामुदायिक वन उपभोक्ता समूहले गरेकको यो काम महत्वपूर्ण भएको भन्दै वडा अध्यक्ष मिङमारदोर्जी शेर्पाले अन्य यातायात पुगेको क्षेत्रमा पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । यस कार्यले प्रदुषण नियन्त्रणमा समेत महत्वपूर्ण सघाउ पुग्ने शेर्पाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार