सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सबै भन्दा ठूलो थुलुङ दुधकोशी गाउँपालिकाले नवनिर्मित आफ्नै प्रशासनिक भवनबाट कामकाज शुरु गरेकोे छ । यससँगै आफ्नै भवनबाट काम शुरु गर्ने जिल्लाकै पहिलो गाउँपालिका बनेको छ ।
गाउँपालिकाले करिब एक करोड ८० ला रुपियाँको लागतमा निर्माण गरेको प्रिफाईभ प्रविधिको २३ कोठे भवन सोमबार सोलुखुम्बुका संघीय सांसद हेमकमाुर राई ‘सुरवीर’ र पण्डित दिनबन्धु पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेपछि नियमित कामकाज त्यहीँबाट सम्पादन हुन थालेको छ ।
साविकको मु्क्ली गाविस भवनमा कार्यालय सञ्चालन गर्दै आएको गाउँपालिकाले चार वटा ब्लकको प्रशासनिक भवन निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष असिम राईले नयाँ भवनवाट कामकाज शुरु गरेपछि विषयगत कार्यालय व्यवस्थापन, जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई समेत सहज हुने बताउनुभयो । साविकको गाविस भवनवाट सेवा प्रवाह गर्दा एकै ठाउँबाट विभिन्न किसिमका सेवा प्रवाह गर्नुपर्दा निकै कष्ट व्यहोर्नु परेको सम्झदैँ अध्यक्ष राईले अब विषयगत शाखाहरुले अलग अलग कोठाबाट सेवा प्रवाह गर्ने बताउनुभयो ।
स्थानीय समाजसेवी तथा व्यवसायी बलराम गुरुङले प्रदान गरेको ५० रोपनी जग्गामा निर्मित भवनमा सभा हल, अध्यक्ष, उपाध्यक्ष र न्यायीक समितिको बेग्लाबेग्लै कोठाको व्यवस्था गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत लगायतका विषयगत कार्यालयको लागि पनि बेग्लै कोठा तोकिएको छ । कार्यालय परिसरमा हेलिप्याडको समेत निर्माण गरिएको छ ।
नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ विकासमा तिव्रता दिइरहेको गाउँपालिकाले जनताको सेवामा काम गरिरहेको जनाएको छ । शिक्षा, स्वास्थ्य, सुरक्षा तथा बैङ्किङ सेवा समेत प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताइएको छ । जिल्लामा आठ वटा स्थानीय तह भए पनि अन्य स्थानीय तहले पुरानै गाविसका भवनबाट दुःखले कामकाज गरिरहेका छन् ।