१0 विद्यालयलाई ११ वटा ल्यापटप वितरण

विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप हस्तान्तरण गर्दै ।

सन्तोष राउत/सोलुखुम्बु । दुर्गम जिल्ला सोलुखुम्बुका तीन वटा गाउँपालिकाका ११ वटा विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । लायन्स क्लब काठमाण्डौँ र काँग्रेस नेता तथा उद्योग व्यवसायी प्रकाशसिंह कार्कीको संयुक्त लगानीमा जिल्लाका सोताङ गाउँपालिकाका विद्यालय, माप्यादुधकोशी र महाकुलुङ गाउँपालिकाभित्रका १० वटा विद्यालयलाई डेल कम्पनीको ल्यापटप वितरण गरिएको हो ।

विद्यालयमा सूचना तथा प्रविधिको प्रयोग बढाउन आफ्नो व्यक्तिगत लगानी समेतमा ल्याप टप कम्प्युटर वितरण गरेको काँग्रेस नेता कार्कीले बताउनुभयो । प्रति कम्प्युटर ५६ हजार परेकोमा कार्कीले २५ हजार रकम सहयोग गर्नुभएको हो । गएको निर्वाचनमा प्रदेस सभामा उम्मेदवार बन्नुभएका कार्कीले विद्यालयलाई प्रविधिको प्रयोगमा पहुँच बढाउनका लागि ल्यापटप वितरणमा सहयोग गरेको बताउनुभयो ।

सोताङका विरेन्द्रज्योति माध्यामिक विद्यालय, हुलु माध्यामिक विद्यालय, बखपलम माध्यामिक विद्यालय, महाकुलुङका छेस्काम माध्यामिक विद्यालय, गुदेल माध्यामिक विद्यालय, जनसुधार आधारभूत विद्यलाय, माप्यदुधकोशी गाउँपालिकाका सगरमाथा माध्यामिक विद्यालय वाकु, हिमालय आधारभूत विद्यालय लगायतका विद्यालयहरुलाई प्रतिविद्यालय एउटाका दरले वितरण गरिएको हो ।

त्यस क्रममा कार्कीको निजी लगानीमा त्यस क्षेत्रकै विद्युतको पहुँच भन्दा बाहिर रहेका ६० जना विद्यार्थीलाई सोलार लाइट वितरण गरिएको छ । घण्टौँसम्म चार्ज टिकाउ हुने लाइट दिइएको हो । ल्यापटप सहयोग पाएपछि विद्यालयहरुले शैक्षिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । विरेन्द्रज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक महाप्रसाद फुयाँलले विद्यालयमा ल्यापटप पाएपछि प्रविधिको प्रयोगमा सहज हुने बताउनुभयो ।

नेता कार्कीले विरेन्द्रज्योति माध्यामिक विद्यालयका छात्रावासमा बस्ने विद्यार्थीलाई खाजा खर्चका लागि मासिक पाँच हजार र प्रारम्भिक बाल विकासका लागि खाजा खर्च मासिक पाँच हजार रुपियाँ नियमिति उपलब्ध गर्ने घोषणा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार