विद्यार्थी जीवनमा राजनीति किन ?

शान्ति बस्नेत

विद्यार्थी जीवनमा शिक्षा जतिको सर्वश्रेष्ठ अरु केही पनि मान्न सकिन्न । तर पनि हाम्रो दैनीक जीवनमा राजनैतिक रुपमा पनि उतिकै प्रबल रुपमा लागि परिरहेका छौँ । विद्यार्थी र राजनीति एक अर्काका परिपूरक हुन् । वास्तवमा परिवर्तन नै गर्ने हो भने विद्यार्थीले आजर्न गरेका शिक्षालाई राजनीतिकरण गरेर यो समाजलाई सकरात्मक मार्गतर्फ अगाडी बढाउन सकिन्छ । तर अहिले हाम्रो देशमा धेरै जनाले राजनीतिलाई फोहोरी खेल हो भनेर आफ्नो तर्क मार्फत अभिव्यक्ति दिने गरेको पाईन्छ । तर यो अहिले जानेर हो या नजानेर हो हामी सबैले विभिन्न किसिमका नकरात्मक र भ्रामक हिसाबमा गरिने क्रियाकलापहरुले गर्दा पनि विद्यार्थीहरुमा यो राजनीतिको प्रभाव कमै मात्रमा पर्दै गएको छ । किनकी विद्यार्थी वर्गमा चेतना धेरै नै हुन्छ, तर के गर्नु चेतनालाई बाहिरसम्म ल्याउने व्यवस्था नभएर यस्तो सङ्कुचित सोचहरुमा हामी सबै जना रुमल्लि रहेका छौँ ।

राजनीतिलाई बुझेर आम नेपालीहरुको व्यवहारिक रुपमा लागु गरियो भने यो एकदमै प्रभावकारी रुपमा हामीले परिवर्तन ल्याउन सक्छौँ । हामीले कति कुराहरु प्रायजसो अरुलाई आरोप प्रत्यारोप गरेर अरुलाई दोषी देखाउने मात्रै काम गर्ने गर्दछौँ, यो हामी सबै विद्यार्थीहरुका लागि घातक कुरा हो, हामीले सोच परिवर्तन अरुलाई दोषी बनाएर हैन अरुको दोषहरुलाई थुपारेर हैन त्यसबाट कसरी हामीहरु नयाँ कुरा सिक्न सकिन्छ भनेर नयाँ बाटो अपनाउनु पर्छ । विद्यार्थी जीवनमा धेरै नै समस्याहरु आइपर्ने हुन्छ । तर पनि त्यसका विविध समस्याको हल गर्ने स्थानहरु भनेको राजनीतिक पक्ष हो । तर अहिले विगतका दिनहरुमा भन्दा राजनीति धेरै नै फरक हुँदै गएको पाइन्छ । विगतका दिनहरुमा राजनीतिक दलहरुको विभिन्न सकरात्मक कामहरुले गर्दा धेरै नै विद्यार्थीहरुमा राजनीतिक छाप बसेको पाइन्छ । तर वर्तमान समयमा यो एकदमै नाजुक अवस्थामा रहेको पाइन्छ । विश्वासिलो बन्न सकेको छैन् राजनीति । विभिन्न पार्टीका भातृ संघ संगठनहरु खोलिएका छन् तर आफ्नो वास्तविक एजेण्डालाई सही रुपमा व्याख्या र विश्लेषण नगरी कन आफ्नो व्यक्तिगत स्वार्थभित्र रहेर काम गर्ने गरेकाले नै मुल समस्या आइ परेको छ ।

विद्यार्थी जो कोही पनि विभिन्न लक्ष्य लिएर नै उच्च शिक्षा अध्ययन गर्नका निमित्त विभिन्न शैक्षिक संस्थाहरुमा भर्ना हुने गरेका छन् । पहिलो पटक विभिन्न दुरदराजबाट शिक्षा र भविष्य खोज्न हिडेका विद्यार्थीहरु विभिन्न किसिमका सपनाका महलहरु बनाएर बावुआमाले कष्ट पूर्ण धन आर्जेर जोरजाम गरी आफ्ना छोराछोरीहरुलाई उच्च शिक्षाका लागि भर्ना गरिदिनु भएको हुन्छ । यो सम्झेर पनि विद्यार्थी अवस्थामा विभिन्न आरोह अवरोहका बीच आफ्नो भविष्य खोजी नै रहेका हुन्छौँ । यही अनुरुप अध्ययनसँगै जो कोही विद्यार्थीले पनि कुनै न कुनै गन्तव्य रोजीरहेका हुन्छन् । विभिन्न किसिमका गन्तव्य त हुन्छन नै पक्कै तर पनि राजनीति प्रमुख बनाएर आउँछन् धेरैले । हो वास्तवमा यो विद्यार्थी र राजनीति एक अर्काका परिपूरक वस्तु हुन । राजनीतिमा धेरैको धेरै किसिमका विश्लेषणहरु हुन्छन् । तर पनि हामी जो कोहीले इतिहास पढनु पर्छ र इतिहास बिर्सनु पनि हुन्न तर इतिहास रच्नका लागि हरपल प्रयास पनि गर्नुपर्छ । यसरी जो कोही पनि राजनीतिमा लागेपछि विद्यार्थीको हकहितका लागि लागीपर्नु पर्छ । राजनीतिमा विना स्वार्थमा काम गर्नु पर्छ । राजनीतिमा विभिन्न पार्टीको भातृ संघ संगठनहरु समावेश हुन्छन् । तर शैक्षिक संस्थाहरुमा होस् या कुनै पनि सार्वजनिक स्थानहरुमा एक अर्काको विचारहरुलाई सम्मान गर्ने संस्कारको स्थापना गर्नु पर्छ । एक अर्काको हितकारी काम गरिनु पर्छ । विभिन्न किसिमका एकअर्कालाई घोचिलो पेचिलो किसिमका वक्तव्य भन्दा पनि एकअर्काको आलोचा हैन विचार र विमर्शलाई आत्मासाथ गर्दै भातृत्वको भावना जागरित गरिनु पर्छ । अबको विद्यार्थी राजनीति भातृ संघ संगठनको पुच्छर बनेर हैन रचनात्मक सृजनात्मक बनेर विद्यार्थीको शैक्षिक लगायत विभिन्न उद्देश्यमूलक क्रियाकलापमा जोड दिनु पर्छ । विद्यार्थीहरुको लक्ष्यलाई विभिन्न सकरात्मक क्रियाकलापहरुद्वारा दक्ष बनाउन जुनसुकै पार्टीहरु पनि लागि परि नै रहनु पर्छ । राजनीतिलाई विद्यार्थीमूखी बनाउन सक्नु पर्छ, राजनीतिलाई विद्यार्थीहरुको हकहितका निम्ति जीवन्त बनाइ राख्न सक्नु पर्छ ।

विद्यार्थीहरुका समस्याहरु नारामा मात्रै सीमित बनाउनु हुन्न यदि साच्चै नै हितकारी राजनीति गर्ने हो भने विद्यार्थीहरुबाट मात्रै सम्भव हुन्छ । विद्यार्थीमा विभिन्न किसिमका उच्च मनोबल हुने गर्छ, त्यसलाई राजनीति मार्फत यो परिवर्तशिल समाजलाई अझ शसक्त बनाइयो भने हामीले परिकल्पना गरे अनुसारको विद्यार्थी र राजनीतिको खाल्डो पुर्न सक्छौं । राजनीतिलाई कतिले मागी खाने भाँडो भनेर पनि बुझेका छन् हो यस्तो बुझाइ राख्ने मानिसहरुलाई विद्यार्थी राजनीति मार्फत सकरात्मक सन्देश दिन जरुरी छ । राजनीति र विद्यार्थीलाई एकै ठाँउमा उभ्याउँदा हामीले हरेक पटक सोचौँ की यो मागी खाने भाँडो हैन् गरिखान सिक्ने माध्यम हो भनेर । हामीले राजनीतिलाई विश्वास गर्नु पर्छ, राजनीतिलाई नराम्रो सोच्नु हुन्न । राजनीति गर्ने सोचलाई बदल्नु पर्छ, त्यो सामथ्र्य भनेको नै विद्यार्थीहरुमा हुन्छ । त्यसैले विद्यार्थी जीवनमा राजनीतिलाई हेला नगरौँ । राजनीति गर्ने शैलीलाई व्यवहारिक बनाउन सकियो भने वास्तविक विद्यार्थीहरुको राजनीति गर्ने प्रवृत्तिमा परिवर्तन र विश्वासिलो पात्रको रुपमा लिन सकिन्छ । यद्यपी विद्यार्थीहरुको क्षमता वृद्धि गर्ने माध्यम राजनीति नै हो । हिजोका दिनहरुमा पनि विद्यार्थीमा राजनीति गर्ने प्रवृत्ति थियो र आज पनि छ, विद्यार्थीले राजनीति गर्नुहुन्न भन्ने हैन विद्यार्थीले नै यो हाम्रो देशको अस्थिर राजनीतिलाई स्थिर बनाउन सम्भव छ । आजका विद्यार्थी नै भोलिका यो राष्ट्र बनाउने मालिक हुन् । त्यसैले वर्तमान समयमा नै सभ्य राजनीति र समाज र देशलाई मजबुत देस बनाउनका लागि सबै विद्यार्थीहरु एक हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार