नेकपा सोलुमा पहिरो, दर्जनौँ नेता कार्यकर्ता संघीय समाजबादी फोरममा


हिमशिखर समाचारदाता/सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी सोलुखुम्बुको विभिन्न जिम्मेवारी बहन गरिसकेका दर्जनौँ जिल्लास्तरका नेता कार्यकर्ताहरु पार्टीप्रति चरम असन्तुष्टि व्यक्त गर्दै संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । लिखित वक्तव्य जारी गर्र्दै नेकपाका जिल्ला कमिटी सदस्य डबलबहादुर कार्की सहित जिल्लाको लिखुपिके गाउँपालिकाका डेढ दर्जन बढी जिम्मेवार कार्यकर्ताले पार्टी परिवर्तन गरेका हुन् ।

उनीहरुले लिखित वक्तव्य जारी गर्दै विगत लामो समयदेखि पूर्व नेकपा एमालेमा निष्ठापूर्वक काम गरेको जानकारी गराउँदै हाल बाम गठबन्धनले बहुमत प्राप्त गरी पार्टी एकतासम्म आइपुग्दा पार्टीले घोषणा पत्रमार्फत जनता सामु गरेका बाचा पूरा नगरी भ्रष्टचारलाई बढवा दिदैँ राज्यको ढुकुटी रित्याउने काम गरेको, निर्वाचित जनप्रतिनिधिहरुले ठेकेदार र व्यापारीको रुपमा व्यवहार गरेको, सूचनाको हकबाट पार्टी कार्यकता तथा जनतालाई बञ्चित गरेको, पार्टीका कुनै पनि गतिविधि सन्तोषजनक नभएको आरोप लगाएका छन् ।

उनीहरुले पूरै तानाशाही र राणाशासनको जस्तो पद्धतीबाट शासन चलाएको, पार्टीभित्र अनुशासनहीनता मौलाएको, स्थानीय तहमा प्राप्त बजेट नातावाद र कृपावादका रुपमा कोठे बैठक बसी विनयोजन गर्ने गरिएको, जनमुखी भन्दा स्वार्थमुखी र व्यक्तिमुखी काम भएको, कुनै शिर्षकमा खर्च भएको रकमको सार्वजनिक सुनुवाई जनता सामु नगरेको, शिक्षा स्वास्थ्य क्षेत्रलाई अति नाजुक अवस्थामा पुर्याएको, राजनीतिमा गुट उपगुटको संस्कार झाङ्गिदै असल कार्यकर्तालाई पाखा लगाइएको, जनप्रतिनिधिका रुपमा जितेकाले चरम अहमता प्रस्तुत गरी कार्यकर्तालाई कागजी घोडाको साक्षीका रुपमा मात्र प्रयोग गरेको जस्ता आरोप लगाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य डबलसिं कार्की, लिखुपिके गाउँपालिकाका पूर्व गाउँ कमिटी अध्यक्ष छोङ्बा शेर्पा, पूर्व वडा अध्यक्ष गेल्बुछिरी शेर्पा, पूर्व नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य कल्ज्याङ शेर्पा लगायत विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता रहेको संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज लाक्पा शेर्पाले जानकारी दिनुभयो । उहाँकाअनुसार नेपाली काँग्रेसका समेत केही समर्थक पार्टी प्रवेश गरेका छन् ।

संघीय समाजवादी फोरम मात्रै अबको वैकल्पिक राजनीतिक पार्टी भएको र सबै जाति, वर्ग मिलेको समतामुलुक समाज निर्माण गर्न सकेको खण्डमा मात्रै नेपालको समृद्धी संभव रहेको भन्दै गाउँगाउँमा सिहंदरबार भनिएपनि गाउँमा सिंहहरुको मात्रै बिगबिगी बढेकाले संघीयतालाई संस्थागत गर्न समाजवादी फोरम मात्रै एक विकल्प रहेकोले लामो समय संघर्ष गरेको पार्टी परित्याग गरी नयाँ विचार, सिद्धान्तसहितको पार्टीमा प्रवेश गरेको नेता डबलबहादुर कार्कीले बताउनयो ।

आयोजित भेलाले गेल्बुछिरी शेर्पाको अध्यक्षतामा २१ सदस्यीय लिखुपिके गाउँ समिति समेत गठन गरेको छ । गठित समितिले डबलबहादुर कार्कीलाई इन्चार्ज तोकेको जनाएको छ । समितिको उपाध्यक्षमा पेम्बा शेर्पा र कल्ज्याङ शेर्पा, सचिवमा धिरज बस्नेत, सहसचिबमा ल्हाक्पासोनाम शेर्पा र कोषाध्यक्षमा मनिता श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार