दलितको समुदायको विद्युत महशुल काँग्रेस नेता शेर्पाले तिर्ने

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य एवं काँग्रेस नेता सोनाम ग्याल्जेन शेर्पाले नगरपालिका–७ का सबै दलित समुदयाको विद्युत महशुस भुक्तानी गरिदिने बताउनु भएको छ । न्यून आर्थिक अवस्था भएका वडामा रहेका ३२ घरधुरी दलित समुदायको महशुल आफुले राज्यबाट पाउने भत्ता तथा सुविधाको रकमबाट मासिक रुपमा भुक्तानी गरिदिने घोषणा गर्नु भएको हो ।

शेर्पाले आफुले मासिक १० हजार रुपियाँ नगरपालिकाबाट सुविधा स्वरुप पाउने र त्यसमा आवश्यक रकम थप गरी १५ हजार रकम बिजुलीको बिल बापत तिर्ने शेर्पाले बताउनु भएको हो । विगत लामो समयदेखि सोही वडामा रहेको गार्मा माध्यामिक विद्यालयमा लाखौँको सहयोग गर्दै आएनुभएका समाजसेवी शेर्पाले यो घोषणा गरेसँगै गार्माका दलित समुदायले निःशुल्क रुपमा विद्युत उपभोग गर्न पाउने भएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट कार्यपालिका सदस्य बन्नुभएका शेर्पाले आर्थिक अभावकै कारण बिजुलीको पहुँचमा नरहेका घरधुरीमा विद्युत जडान गरिदिने बताउनुभयो । समाजमा पछिपरेका समूदायलाई माथि उकास्न सके मात्र समानुपातिक रुपमा समाजलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ । उहाँले विगतदेखिनै गार्मा माविको शिक्षामा ठूलो योगदान गर्नुभएको छ । भवन, फर्निचर, आवासलगायत कुरामा उहाँको सहयोग रहेको विद्यालयले जनाएको छ ।

शेर्पाले विद्युत महशुल तिरिदिने भएपछि स्थानीय दलितहरु खुशी भएका छन् । भित्ताखर्कका पूर्णबहादुर विकले भन्नुभयो –विभिन्न कारणले पछि परेर आर्थिक अवस्था समेत कमजोर रहेका दलित समुदायलाई सहयोग गर्ने मान्छे पाउँदा धेरै खुशी लागेको छ । गाउँमा कतिपय दलितहरु विजुलीको बिल तिर्न नसक्ने अवस्थामा रहेका छन् भने कतिपयले विद्युत जडान समेत गर्न सकेका छैनन् –उहाँले थाप्नुभयो । अर्का मिन्दुपाकेका स्थानीय रमेश विकले पनि शेर्पाको सहयोगले दलितले ढुक्कले बत्ती बाल्न पाउने बताउनुभयो । बिल धेरै आउला अर्थात बिलको रकम कसरी तिर्ने भन्ने चिन्ताबाट अब मुक्त हुने उहाँको भनाइ छ ।

समाजमा पछि परेका समूदायलाई व्यक्तिगत रुपमा सहयोग गर्नु धेरै सकरात्मक काम भएको नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । सहयोगका लागि धन्यबाद दिदैँ सबैले क्षमताअनुसार सहयोग गर्न सके नगरपालिका समृद्ध बन्न टेवा पुग्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार