सन्तोष राउत/सोलुखुम्बु । माथिल्लो सगरमाथाका तीन जिल्लाका लागि सोलुखुम्बुको फाप्लुमा स्थापना भएको वागवानी केन्द्रले फलफुलका विरुवाको उच्च माग हुन थालेपछि मुख्य सरोकारवालाहरुमाझ फलफूल विरुवा माग आपूर्ति व्यवस्थापनमा छलफल गरेको छ ।
केन्द्रले नेपाल तथा सोलुखुम्बुमा फलफूल वाली र विरुवाको वर्तमान अवस्था, फलफूलका विरुवाको माग र आपूर्ति र फलफूल विरुवाको आपूर्ति सहज बनाउने उद्देश्य कृषक, कृषि प्राविधिक र पत्रकारहरुलाई जानाकारी गराएर थप समाधानका उपाय खोज्नका लागि छलफल आयोजना गरिएको वागवानी केन्द्र फाप्लुका प्रमुख चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
छलफलमा फलफूलका विषयमा धेरै नयाँ कुराको जानकारी पाएकाले अब आफू जिल्ला फर्केर कृषकलाई सिकाउने खोटाङका कृषि प्राविधिक लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो । अर्गानिक फलफूल तरकारी खेती तथा प्रशोधन केन्द्र ओखलढुङ्का कृषक बालकुमार खनालले करिब दुई सय बोट किबी लगाएको भन्दै अझै विरुवा नपुगेको बताउनुभयो ।
सोलुखुम्बुका कृषि प्राविधिक रश्बिन मगरले भन्नुभयो –विगतदेखि वागवानीले धेरै तालिम दिएकाले गाउँमा गएर कृषकका समस्या समाधान गर्न सजिलो भएको र वागवानी केन्द्र, कृषि ज्ञान केन्द्र र स्थानीय तह मिलेर कृषक र प्रविधिकलाई तालिम दिनुपर्ने उहाँको माग छ ।
पछिल्लो समय फलफूलमा पनि किबीप्रति कृषकको आकर्षण बढेको र यसले राम्रो आम्दानी समेत दिन थालेकाले विरुवाको सहज उपलब्धताका लागि नर्सरी देखि प्रशोधनसम्मको योजना जिल्लामानै सञ्चालन गर्नुपर्ने कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख लक्ष्मण दास बताउनुभयो ।
छलफलमा नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष मनोजकुमार श्रेष्ठले किबीको विरुवाको माग उच्च रहेको र वागवानी केन्द्रले आफै उत्पादन थालेर राम्रो गरेको भन्दै कतिपय नक्कली कृषकले सरकारी अनुदान पाउनका लागि मात्र कृषि फर्म दर्ता गर्ने गरेको प्रति ध्यान दिन आग्रह गर्नुभयो ।
यूवा विदेस जाँदा गाउँमा बाँझो रहेको जमिनमा फलफूल बाली लगाउने लहर बढ्दै गएकाले विरुवाको माग धान्न नसकिएको केन्द्रका प्रमुख श्रेष्ठले बताउनुभयो । फलफूलमध्ये स्याउ र किबी फलको माग धेरै रहेका भन्दै प्रमुख श्रेष्ठले वागवानी केन्द्रबाट यस वर्ष किबी फलका ३१००, स्याउका ४५०००, नास्पाती १२००, आरु ६००, आरुबखडा ३५०, ओखर ४५० गरी जम्मा १० हजार दुई फलफूलका विरुवा वितरण गरिएको जानकारी दिनुभयो । जसमा उच्च घनत्व प्रविधिको स्याउको विरुवाको माग धेरै छ । सोलुखुम्बुमा मात्र ४० हजार विरुवाको माग भएको उहाँले बताउनुभयो ।
सोलुखुम्बुमा यस वर्ष किबी फलको मात्र थुलुङ दूधकोशी गाउपालिकामा १६ हजार, वागवानी केन्द्रमा तीन हजार, नेचासल्यान गाउँपालिकामा पाँच सय, राष्ट्रिय फलफूल विकास केन्द्रको चार वटा आयोजनामा १० हजार र सोताङ गाउपालिकामा गरी कूल जम्मा ३५ विरुवा ११६ हेक्टर क्षेत्रफलमा विरुवा रोपिएको छ ।
केन्द्रिय तथा स्थानीय तहबाट किबी फलमा कार्यक्रम राखेकाले सबैजसो पहाडी जिल्लाहरुमा विरुवाको माग धेरै भएको प्रमुख श्रेष्ठले बताउनुभयो । कतिपय स्थानमा विरुवाको अभावको कारण कार्यक्रम नै स्थगित भएका छन् । छलफलमा सहभागी अधिकाँसले स्थानीयस्तरमा फलफूल नर्सरी स्थापना कार्यक्रममा जोड दिनुपर्ने बताए । हाल जिल्लामा सुन्तला जात, कफी, अम्बा, अलैँची, स्याउ, नास्पातीका थोरै क्षमताका नर्सरी रहेका छन् ।