सगरमाथाको फेदीबाट गगन थापाले दिए सरकारलाई कडा चुनौती, छ दर्जन बढी नेकपाका कार्यकर्ता काँग्रेसमा


सन्तोष राउत/सोलुखुम्बु। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद गगन थापाले नेकपा नेतृत्वको सरकार दुई तिहाईको दम्भ बोकेर एकलौटी रुपमा अघि बढेको आरोप लगाउनुभएको छ । कांग्रेसद्वारा शनिबार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको बासा दाम्कुमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार एकपछि अर्को भ्रष्टाचार र अनियमिततामा डुब्दै गएको बताउनुभयो ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेकोतर्फ संकेत गर्दै थापाले सरकार एउटा व्यवसायीका लागि दुई तिहाईको शक्ति प्रयोग गर्न तल्लिन भएको तर जनताको चासो र सरोकारका कुनै विषयमा ध्यान नदिएको बताउनुभयो । निर्मला पन्त बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्नुलगायतका कारण सरकार जनमूखी निर्णयबाट भाग्दै गरेको उहाँको भनाइ छ । उहाँले काँग्रेसको सहभागिता विना संसद चलाएर देखाउन चुनौती दिनुभयो ।

कुनै सैद्धान्तिक आधारविना लोभ र पापको जगमा दुई ‘यो सरकारसँग को खुसी छ ? कोही छैन’ उहाँले भन्नुभयो ‘प्रधानमन्त्री संसदमा बोल्दै गर्दा नेकपाकै सांसदलाई टेबल ठोक्न लाज लागेको दृष्यले सरकारले कस्तो काम गर्दैछ भन्ने कुरा प्रष्ट भएको छ ।’ चमत्कार गरेको दाबी गर्ने सरकारले गफ बाहेक केही नगरेको र ढुकुटीमा भएको पैसा समेत खर्च गर्न नसकेको उहाँले बताउनुभयोे ।

कांग्रेस धनीको पार्टी भएकाले गरिब जनतालाई धनी बनाउने चहाना राख्छ र कम्यूनिष्ट पार्टी गरिबहरुको पार्टी भएकोले सबै जनता धनी भएमा पार्टी नै सकिने हुनाले गरिब राख्न चाहान्छ –नेता थापाले भन्नुभयो । पार्टीले नेता तथा कार्यकर्तालाई मिलाएर लैजाने कुरामा कुनै शंका नगर्न आग्रह गर्दै नेता थापाले अर्काे निर्वाचनमा सोलुखुम्बु जिल्लाका आठ वटै स्थानीय तहमा विजयी हुने किसिमले गतिविधि सञ्चालन गर्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले जनप्रतिनिधिकै संलग्नतामा स्थानीय तहमा भष्ट्राचार मौलाएको आरोप लगाउनुभयो । नेता केसीले स्थानीय तहमा मौलाएको गलत प्रवृत्तिको रुपमा पार्टी र भातृसंस्थाहरुलाई विरोध र दबाबका कार्यक्रम सञ्चालन गर्न सभापतिमार्फत निर्देशन समेत दिनुभयो । एक नम्बर प्रदेसको नामाकरण सगरमाथा राख्नका लागि आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा कांग्रेस सभापति विनोद बस्नेतले जनप्रतिनिधि विकासको नाममा ठेकेदार भएको भन्दै आफूहरुले ईमानदारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने र खबरदारी गर्ने बताउनुभयो । उहाँलेले नव प्रवेशी सदस्यहरुलाई कांग्रेसले अन्याय नगर्ने भन्दै अब नेकपामा पहरो जाने बताउनुभयो ।

कांग्रेस नेता प्रकाशसिंह कार्कीले सरकार लाचार बन्दै गएकोले अब यो सरकारबाट केही आशा गर्न नसकिने बताउनुभयो । जनतालाई कहिल्यै अन्त्य नहुने कृषिलाई अँगाल्न उहाँको सुझाव छ ।

सो अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलङबु शेर्पाले केन्द्र सरकार संघीयता असफल पार्नतर्फ उद्यत देखिएको आरोप लगाउँदै कानून निर्माण गरेर स्थानीय तहलाई सहज बनाउनुको साटो निर्देशन जारी गरेर अधिकार फेरी केन्द्रतिर फर्काउन गालेको बताउनुभयो । दुई तिहाइको कम्युनिष्ट सरकारले उखान टुक्का भनेर हसाउने काम गरेको र धुर्मुस सुन्तली जस्ता हास्य कलाकारले देशको विकास गर्नु परेको बताउनुभयो ।

५० राष्ट्रका महावाणिज्य दूतका डिन तथा काँग्रेसका पुराना नेता आङछिरिङ शेर्पाले सरकारले सपना मात्र बाँडेर मन परी गरेको भन्दै गरिब जनतालाई कर थोपरेर एनसेल कम्पनीलाई ७२ अर्बको कर छुट दिइरहेको बताउनुभयो । यो सरकार अदूरदर्शी र बेइमान भएको उहाँको भनाइ छ ।

भोजराज कार्कीको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य शम्भुहरी बाँस्तोला, नेपाली काँग्रेस सोलुखुम्बुका सचिव धनजन राई, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक कुमार झा, नेता शुभराम बस्नेत, लोचनकुमार शर्मा, अध्यक्ष दिनेश राई, पर्यटन व्यवसायी तथा काँग्रेस नेता चोलेन्द्रबहादुर कार्की, नविन कार्की, नेपाल महिला संघकी अध्यक्ष छुण्डील्हमू शेर्पा, नगर प्रवक्ता शारदामाया तामाङ, नगर कार्यपालिका सदस्य गान्धीमाया तामाङ, थुलुङ दूधकोशी गाउँपालिकाका काँग्रेस नेता भानुभक्त उपाध्याय, नेपाल ट्रेड युनियन काँग्रेस सोलुखुम्बुका अध्यक्ष उत्रमान राईजीवन गुरुङ, विद्यार्थी नेता जीवन बस्नेत लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

आमसभामा विभिन्न पार्टी परित्याग गरी करिब छ दर्जन बढी जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कम्युनिष्टको ज्यादती खप्न नसकेर कांग्रेसमा आएको र अर्को निर्वाचनसम्म धेरै साथीहरु नेकपाबाट अन्य पार्टीमा जााने उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार