सन्तोष राउत/सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदीबाट मेचीकाली विश्व अभियान शुरु हुने भएको छ । विगत २५ वर्षअघि प्रथम सगरमाथा आरोही सर एडण्ड हिलारीद्वारा सञ्चालित हिमालयन ट्रष्टको आर्थिक तथा भौतिक सहयोगमा वि.सं. २०५० सालमा सोलुखुम्बुको सल्लेरीमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसले विभिन्न शैक्षिक योजना सहित मेचीकाली विश्व अभियान शुरु गर्ने भएको छ ।
क्याम्पस स्थापनाको २५ बर्षमा प्रवेश गरेको रजत महोत्सवको अवसरमा फागुन ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने उक्त अभियानमा सोलुखुम्बु बहुमुखी क्याम्पसलाई विश्वको शैक्षिक केन्द्र बनाउने गरी कार्यक्रमहरु अगाडि बढाउने पत्रकार सम्मेलन मार्फत क्याम्पस प्रमुख उद्धवकुमार शर्माले शर्माले जानकारी दिनुुभयो ।
क्याम्पसले मेचीकाली विश्व अभियान सञ्चालन गरी सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको हैसियतमा गिनीज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने लक्ष्य राखेको छ । जसका लागि आगामी पाँच बर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने क्याम्पस प्रमुख शर्माले जानकारी दिनुुभयो ।
क्याम्पसले ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्स अध्यन अधपन गराउने भएको छ । यसका लागि ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना (एकबर्षेमा) र तीन बर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ ।
क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्सको लागि प्रथम बर्षमा सगरमाथाको प्रवेशद्वार नाम्चे, दोस्रो बर्षमा सगरमाथा आधारशिविर र तेस्रो बर्षमा आधारशिविर भन्दा माथि उक्लिदै थेसिस लेखाउने क्याम्पस प्रमुख शर्माले जानकारी दिनुभयो । २५ देशका एक एक जनालाई निःशुल्क शिक्षा दिइने भएको छ ।
अभियान अन्तर्गत सोलुखुम्बु बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रछात्रा मध्ये उच्च प्राविधिक शिक्षाको मूलधारमा आउन नसकेका, जेहेन्दार, जनजाति, दलित, गरिब, महिला र अपाङ्गता भएकाहरुलाई बार्षिक पाँच लाख छात्रबृत्ति वितरण गरी उच्च प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर दिईने क्याम्पस प्रमुख शर्माले जानकारी दिनुुभयो ।
यसले क्याम्पसको माध्यमबाट सोलुखुम्बु र नेपाललाई नै विश्वमा चिनाउने र क्याम्पसलाई विश्वको शैक्षिक केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत सुधार ल्याई विदेशी मुद्राको आर्जनबाट देशलाई पनि आर्थिक टेवा पुुग्ने यस कार्यक्रमलाई सबै क्षेत्रबाट सहयोग गर्न प्रमुख शर्माले आग्रह गर्नुभयो ।
क्याम्पसले राखेका शैक्षिक योजनाहरु पूरा गर्नका लागि करिब एक अर्ब रुपियाँ रकम आवश्यक पर्ने र उक्त रकम चन्दादाताबाटै सङ्कलन गरेर पुु¥याइने लक्ष्य लिएको छ । समुन्द्र सतहदेखि २३०९ मिटरको उचाईमा अवस्थित क्याम्पसमा हाल १०+२, ४ बर्षे बि.एड, १ बर्षे बि.एड, तीन बर्षे बी.ए, ४ बर्षे बी.बी.एस. र एम.एडको पढाई भइरहेको छ ।