मेची-काली विश्व अभियानको राष्ट्रपतिबाट उद्घाटन

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत महोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेची–काली विश्व अभियानको उद्घाटन गर्नुभएको छ । प्रथम सगरमाथा आरोही सर एडमण्ड हिलारीद्वारा सञ्चालित हिमालयन ट्रष्टको आर्थिक तथा भौतिक सहयोगमा वि.सं. २०५० सालमा स्थापना भएको क्याम्पसले विभिन्न शैक्षिक योजना सहित मेचीकाली विश्व अभियान शुरु गरेको हो ।

अभियानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सगरमाथाको काखमा रहेको क्याम्पसले ल्याएको शैक्षिक योजना धेरै राम्रो भएको भन्दै सफलताको शुभकामना दिनुभयो । उहाँले देसकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा पर्यटकीय गतिविधि हुने सोलुखुम्बु पर्यटकीय शिक्षा विकासका लागि महत्वपूृर्ण खुला शैक्षिक प्रतिष्ठानका रुपमा रहेको बताउनुभयो । यस अभियान अन्तरगत अध्ययन हुने ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्सबाट आधुनिक व्यवसायिक पर्यटनमा टेवा पुग्ने उहाँको भनाइ छ । पर्यटनलाई प्रबद्र्धन गर्न गन्तव्यलाई स्वच्छ सफा बनाउनुपर्ने उहाँको धारणा छ ।

उक्त अवसरमा सघीय सांसद हेमकुमार राईले क्याम्पसको यो महान अभियानमा सबैले दलीय स्वार्थ भन्दा माथि उठेर लाग्नुपर्ने बताउनुभयो । प्रदेस नं. १ का सामाजिक विकास मन्त्रि जीवन घिमिरेले अत्यन्तै महत्वकांक्षी योजना भएपनि धेरै राम्रो अभियान भएकाले प्रदेस सरकार यस अभियानको हिस्सेदार बन्ने बताउनुभयो । उहाँले अभियान सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तिर्थराज खनियाले यस क्याम्पसले राम्रो कामको शुरुवात गरेको भन्दै सहयोगको बचन दिनुभयो । विश्वको पर्यटकीय केन्द्रका रुपमा रहेको यस क्याम्पसले आवश्यक भौतिक पूर्वाधार विकास गरी पर्यटन सम्बन्धी विषयको सम्बन्धन मागेमा त्रि.वि.ले यही आएर सम्बन्धन दिने बताउनुभयो ।

अभियानलाई सफल पार्नका लागि सल्लेरी आउनु भएका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अति उत्कृष्ट योजना सहित अभियानको थालनी भएकाले सक्दो सहयोग गर्ने बताए । यस क्याम्पसले दिने प्राविधिक शिक्षाबाट यूवा विदेश पलायन हुने क्रम रोक्न मद्दत गर्ने विश्वास मह जोडीको छ ।

एक अर्ब रुपियाँको कोष स्थापना गर्ने लक्ष्य सहित शुरु भएको अभियानको उद्घाटन कार्यक्रममै करिब डेढ करोड रुपियाँको सहयोगको प्रतिबद्धता आएको छ । जसमा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले नगरपालिकाको तर्फबाट एक करोड रुपियाँ र व्यक्तिगत एक लाख १५ हजार रुपियाँ दिने प्रतिबद्धता जनाउनुभएको छ ।

यस कायक्रममा शिक्षा शास्त्र संकायका डिन कृष्णप्रसाद गौतम, प्रदेस सांसदहरु बुद्धिकुमार राजभण्डारी, उत्तम बस्नेत, ५० देसका महावाणिज्य दूतका डिन आङछिरिङ शेर्पा, उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य प्रकाससिं कार्की, काँग्रेस नेता आङगेलु शेर्पा, प्रभुराम बस्नेत, जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राई, प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगर लगायतले क्याम्पसको अभियान सफलताको शुभकामना दिएका छन् ।

सोलुखुम्बु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उद्धवकुमार शर्माले विश्वको शैक्षिक हब बनाउने भन्दै सबैभन्दा बढी जनसहभागितामा सञ्चालित क्याम्पसको हैसियतमा गिनीज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउने लक्ष्य रहेको बताउनुभयो । जसका लागि आगामी पाँच बर्षभित्र पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराउने क्याम्पस प्रमुख शर्माले जानकारी दिनुुभयो ।

क्याम्पसले ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ कोर्समा ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार छात्र छात्रा, विभिन्न २५ राष्ट्रका २५ जना र अति पिछडिएका समुदायबाट १३ जना गरी पाँच सय जनालाई खान बस्न सहित निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ ।
अभियान अन्तर्गत सोलुखुम्बु बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रछात्रा मध्ये उच्च प्राविधिक शिक्षाको मूलधारमा आउन नसकेका, जेहेन्दार, जनजाति, दलित, गरिब, महिला र अपाङ्गता भएकाहरुलाई बार्षिक पाँच लाख छात्रबृत्ति वितरण गरी उच्च प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर दिईने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार