सन्तोष राउत/सोलुखुम्बु । डा. रेणुका ‘सोलु’द्वारा लिखित ‘चिराक’ उपन्यास पछिल्लो समय चर्चाको शिखरमा रहेको छ । केही समयअघि राजधानीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको उक्त उपन्यास सोलुखुम्बुमा समेत गृह विमोचन गरिएपछि यसको चर्चा बढ्दै गएको हो ।
सदरमुकाम सल्लेरीमा चर्चित हाँस्य कलाकार मह जोडीको हातबाट उपन्यासको गृह विमोचन गरिएपछि उपन्यासको चर्चा झनै चुलिएको हो । पुस्तकको गृह विमोचन तथा साहित्यीक सन्ध्या कार्यक्रममा विमोचनपछि हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले सोलुखुम्बुमा पनि यस्ता क्षमतावान साहित्यकार जन्मेकोमा खुशी व्यक्त गर्दै साहित्यबाट पनि परिर्वतन संभव भएकाले कलम नरोक्न सुझाव दिएका छन् ।
मदनकृष्ण श्रेष्ठले आलोचना र टिप्पणीबाट डराएर बस्न नहुने भन्दै आफ्नो क्षमतालाई निरन्तर पाठकमाझ लैजान डा. रेणुकालाई हौसला दिनुभयो । हरिबंश आचार्यले आफूले पनि मनलाई बुझाउन ‘चिना हराएको मान्छे’ र ‘हरि बहादुर’ लेखेको बताउँदै साहित्य जति धेरै लेख्यो, त्यति निखारिदँै जाने भएकाले लेखनलाई अनवरत अघि बढाउन सुझाव दिनुभयो ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले ‘चिराक’ले उज्यालोको सन्देश प्रवाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । पुर्वसभाषद् आङदावा शेर्पाले लेखिकाले चलाएको कलमले महिलाको शसक्तिकरण र अधिकार प्राप्तीको क्षेत्रमा योगदान पुगेको धारणा राख्दै सामाजिक यर्थाथलाई पुस्तकमा समाबेश गरी पाठक समक्ष चेतना प्रवाहमा निरन्तर लाग्न शेर्पाले सुझाव दिनुभयो ।
सुदुरपश्चिमको परिवेशबाट सुरुवात भएर काठमाडौं शहरमा टुङिएको उपन्यासमा सुदुरपश्चिमकोे मौलिक भाषाको प्रयोग भएको कृति पाठकमाझ लोकप्रिय बन्दै गएको सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशव गिरीले बताउनुभयो । ‘नेपाली समाजमा महिलाहरुको अवस्था सामान्य परिवार र व्यक्ति भन्दा उच्च परिवार र शिक्षित व्यक्तिहरुमा झन भयानक रूपमा रहेको, सामान्य परिवारको कुरा सजिलै बाहिर आउँछ भने उच्च परिवारको कुरा भित्रभित्रै दाबाउने कोसिस गरिएको हुन्छ र त्यो एक्दिन पक्कै चिराकको ज्वाला बनेर बाहिर निस्किन्छ भन्ने कुरा उपन्यासका पात्रहरुको भुमिका देखिन्छ’ उहाँले भन्नुभयो ।
सुरुवातको श्रीमान् श्रीमतीको समुधुर सम्बन्ध पुरानो हुँदै गएपछि श्रीमतीलाई श्रीमान्ले हेप्दै बाह्य स्त्रीसँग सम्बन्ध बढाउने केही उच्च वर्गका पुरुषहरुको चरित्रलाई पनि उपन्यासले चित्रण गर्न खोजेकाले यसले समाजको वास्तविक तथ्यलाई उजागर गर्ने केशिस गरेको उहाँको भनाइ छ । सहनशील नारीहरु माइती, श्रीमानको इज्जत र छोराछोरीको भविष्य सम्झेर अन्यायलाई सहने र अति भएपछि चिराकको ज्वालाझैँ प्रस्तुत हुन पनि पछि पर्दैनन् भन्ने कुरा पनि उपन्यासमा देखाउन खोजिएको उहाँको विश्लेषण छ ।
पाठक तथा शुभचिन्तकको माया र हौसलाले लेखनलाई अझ परिस्कृत गर्दै लैजान उत्साहित बनाएको उपन्यासकी लेखिका डा. रेणुकाले बताउनुभयो । मह जोडीको हातबाट उपन्यासको गृह विमोचन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । डा. रेणुकाले यर्स अघि ‘भिरमह’ कृति बजारमा ल्याउनुभएको थियो ।