कांग्रेस सभापति देउवाद्वारा अधिकारीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले शोक बिज्ञप्ति प्रकाशित गर्दैे आकस्मिक घटनामा अधिकारीका निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र अधिकारीको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। देउवाले विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य भएको स्मरण गरेका छन्।

यस्तै, यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको छ भने यो दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको देउवाले शोक बिज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार