संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित ७ सवार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना मौसम खराबीका कारण भएको देखिएकाे छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले मौसमको खरावीका कारण दुर्घटना भएको हुन सक्ने बताए। त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले दुर्घटनाका कारणबारे थप अनुसन्धान बाँकी रहेपनि मौसमको खरावीका कारण दुर्घटना भएको हुन सक्ने बताएका हुन्।
उनले मौसमको खरावीको कारण बुधबारै शव काठमाडौ ल्याउन कठिनाइ हुने देखिएपनि आजै ल्याउने प्रयास जारी राखिने बताए। उनले शव काठमाडाैं ल्याउन नेपाली सेनाको दुईवटा हेलिकप्टर त्यसतर्फ पठाइएको जानकारी दिए। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर पर अपराह्न करीब १ः३० बजे दुर्घटना भएको थियो।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे रहेका थिए।