हिमशिखर समाचारदाता/सोलुखुम्बु । प्रदेश नं १ का आर्थिक मामिला तथा योजना विकास मन्त्रि ईन्द्रबहादुर आङबोले सिके राउत राज्यको मूलधारमा आएपछि विदेशी शक्ति केन्द्रको चलखेल सकिएको बताउनुभएको छ । सरकार राष्ट्रिय अखण्डता, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रियता भन्दा बाहिर गएर कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै मन्त्रि आङबोले देस विखण्डनको नारा लिएर आन्दोलनमा रहेको शक्ति संविधान स्विकार गरेर आउनु स्वागतयोग्य काम भएको बताउनुभयो ।
सोलुखुम्बुको फ्रेण्डसीप यूथ क्लबको आठौँ वार्षिक उत्सव तथा फ्रेण्डसीप अवार्ड २०७५ को सल्लेरीमा उद्घाटन गर्दै मन्त्रि आङ्बोले मुलुक नयाँ संविधान र संघीयता कार्यान्वयन रहेकाले जनताले सोचे जस्तो विकासले गति नलिएको स्विकार्दै भारत र अमेरिकामा पनि संघीयता कार्यान्वयन हुन वर्षौँ लागेको स्मरण गराउनभयो । सरकारलाई असफल पार्न देसी विदेसी शक्ति लागेको भन्दै प्रतिपक्षलाई सकरात्मक सहयोग गर्न आग्रह गर्नुभयो । विप्लब नेतृत्वतर्फ सङ््केत गर्दै उहाँले अब कसैले अर्को जनयुद्धको सपना देखेमा सरकारले नछोड्ने चेतावनी दिनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीरकुमार राईले समन्वय समितिलाई आर्थिक अधिकार सम्पन्न बनाउन आग्रह गर्नुभयो । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले खेलकुदका पुर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न प्रदेश सरकारको ध्यानकर्षण गर्दै आगामी बर्षमा खेल र खेलाडीको विकासलाई प्राथमिकताामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय तह र प्रदेश सरकारको योजनामा विकासमा डुब्लिकेशन भएकाले कार्यान्वयनमा अलमल भएको बताउनुभयो । प्रदेश सरकारले ऐन कानुन निर्माणमा ढिलाई गर्दा स्थानीय सरकार सञ्चालनका लागि निर्माण गर्नुपर्ने कानुन निर्माणमा अन्यौलता बढेको र बनेका कानुन कार्यान्वयनमा समस्या देखिएको अध्यक्ष राईको भनाइ छ ।
फ्रेण्डसीप यूथ क्लबका अध्यक्ष महेश किरातीले आफ्नो संस्थाले जिल्लाको खेल क्षेत्र र खेलाडीको विकासमा धेरै सहयोग गरेको भन्दै सरकारले थप सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोला, जिल्ला समन्वय समतिका उपप्रमुख धर्मराज वन, उपमेयर कल्पना राई, जिल्ला खेलकुद विकास समतिका अध्यक्ष डिबी नेपाली, प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानमगर लगायतको उपस्थिती रहेको थियो ।