नेपालकै सर्वाधिक राशीको भलिबलको उपाधी नश्चल निशानीलाई


सन्तोष राउत/सोलुखुम्बु । नेपालकै सर्वाधिक राशीको भलिबल प्रतियोगिताको उपाधी सोताङ गाउँपालिकाको निश्चल निशानी निर्माण सेवा प्रा.लि.ले जितेको छ । फ्रेण्डसीप यूथ क्लब सोलुखुम्बुको आठौँ बार्षिक उत्सब तथा फ्रेण्डसीप अवार्ड २०७५ को अवसरमा आयोजना गरिएको जिल्लाभित्रका स्थानीय तह स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा नेचासल्यान गाउँपालिकालाई २५–२३, २५–१९, २०–२५, २८–३० र २०–१८ को सेटमा पराजित गरेको हो ।

प्रतियोगितामा थुलुङदूधकोशी गाउँपालिकाले माप्य दूधकोशी गाउँपालिकालाई हराउँदे तेस्रो स्थान हात पारेको छ । खेलमा उत्कृष्ट खेलाडी सोताङ गाउँपालिकाका एकराज बस्नेत, स्पाइकर र सेटरमा नेचासल्यान गाउँपालिकाका निर्मल निरौला र अर्जुन राई, ब्लकरमा सोताङ गाउँपालिकाका विजय रानामगर, डिफेन्डर र सर्भरमा थुलुङदूधकोशी गाउँपालिकाका क्रमशः बसन्त राई र दिनेश केसी चयन भएको रेफ्री चेतबहादुर मगरले जानकारी दिनुभयो ।

चार दिनसम्म हुने प्रतियोगितामा आठ वठा स्थानीय तहका ११ टिमले सहभागिता जनाएका थिए । खेलमा प्रथम हुनेले तीन लाख ३३ हजार ३३३ रुपियाँ, दोस्रो हुनेले दुई लाख २२ हजार २२२ रुपियाँ र तेस्रो हुनेले एक लाख ११ हजार १११ रुपियाँका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । घोषित पुरस्कार राशी जिल्लाभित्रका मात्र खेलाडी सहभागी हुने प्रतियोगीता मध्ये देसकै ठूलो भएको क्लबका खेल संयोजक नाम्गेल शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार